सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने छ : मन्त्री मेहता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने छ : मन्त्री मेहता



लहान । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गरेकी छन् ।

लहानमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), भवन निर्माण र विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि ‘ट्रमा युनिट’ मार्फत सेवा सुचारु गर्न लागिएको जानकारी दिइन् । 

उनकाअनुसार प्रदेश सरकारले हालै २९ जना विशेषज्ञ चिकित्सकहरू पठाइसकेको छ । सिटी स्क्यान मेसिन भएपनि रेडियोलोजिष्टको अभावमा सेवा प्रभावित भएको भन्दै उनले अर्थोपेडिक सर्जन र एनेस्थेसिया विज्ञसहितको टोली व्यवस्थापन गरी सेवा सुचारु गर्ने बताइन् ।

उनले भनिन्, ‘ट्रमा सेन्टर एक दीर्घकालीन प्रक्रिया हो, जसमा बहुविशेषज्ञ चिकित्सकहरू आवश्यक पर्छन् । तर लहान राजमार्गमा अवस्थित भएको र यहाँ सिटी स्क्यान, ब्लड बैंक तथा आँखा अस्पताल जस्ता पूर्वाधारहरू उपलब्ध रहेकाले हामी तत्काल ट्रमा युनिट सुरु गर्न सक्छौँ । विगतको १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको भुक्तानी भइसकेको छ । बीमाका केही प्याकेजहरू अवैज्ञानिक रहेकाले त्यसलाई पुनरावलोकन (रिभ्यु) गर्ने काम भइरहेको छ ।’

स्वास्थ्य बीमाको सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले बीमा कार्यक्रम पूर्ण रूपमा बन्द नभएको स्पष्ट पारिन् ।

उनले निजी अस्पतालहरूमा मात्र बीमा सेवा रोकिएको र सरकारी अस्पतालहरूमा यो यथावत रहेको जानकारी दिइन् । तथ्याङ्कअनुसार करिव ९३ प्रतिशत नागरिक सरकारी अस्पतालमै निर्भर रहेकाले बीमाको प्रभावकारिता बढाउन सरकार लागिपरेको उनको दाबी छ । 

प्रकाशित : 15 August, 2026 4:11 pm