गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ । बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल तथा गरिमा इन्टरबैंक क्यूआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको हो ।

बैंकका अनुसार गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिनेछ ।

त्यसैगरी, गरिमा पीओएस टर्मिनल सेवामार्फत व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट तथा प्रिपेड कार्डबाट सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी प्राप्त गर्न सक्नेछन् । बैंकले यो सेवाले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै व्यापारिक कारोबारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरेको छ ।

गरिमा इन्टरबैंक क्यूआर टेलर सेवामार्फत भने फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले मोबाइल एपबाट गरिमा इन्टरबैंक क्यूआर स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखाबाट सहज रूपमा नगद प्राप्त गर्न सक्नेछन् ।

गरिमा विकास बैंकले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै सुरक्षित, सरल, छरितो र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यका साथ आगामी दिनमा पनि नवीनतम प्रविधिमा आधारित सेवा विस्तार गर्दै जाने जनाएको छ ।

आईएसओ ९००१:२०१५ र आईएसओ २७००१:२०२२ मान्यता प्राप्त बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा डिजिटल बैंकिङ इकोसिस्टममार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित : 20 July, 2026 12:44 pm