काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा औषधि खरिद तथा स्टक व्यवस्थापनमा भएको भनिएको अनियमिततासम्बन्धी प्रकरणमा फार्मेसी इन्चार्जसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना तथा हानीनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दा दायर हुनेमा फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना, फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लबेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दिपक सापकोटा तथा फार्मेसी युनिट स्टोर किपर विनोद पोखरेल, शर्मीला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दिप तिवारी रहेका छन्।
आयोगले उनीहरूमाथि जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐनबमोजिम कारबाहीको माग गरेको छ।
आयोगका अनुसार औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधि आपूर्ति नै नभएको अवस्थामा समेत बिल–बिजक सफ्टवेयरमा विवरण प्रविष्ट गरी भुक्तानी प्रक्रिया अघि बढाइएको थियो। साथै, अस्पतालको स्टोर शाखा र भर्याङमा करोडौँ रुपैयाँ बराबरका औषधि म्याद गुज्रिएको अवस्थामा फेला परेको तथा कम्प्युटर प्रणालीमा मौज्दात देखाइएका औषधि वास्तविक रूपमा स्टकमा नरहेको उजुरीपछि अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा सम्बन्धित कर्मचारीहरूले आफ्नो पद तथा अधिकारको दुरुपयोग गर्दै सरकारी सम्पत्तिको हिनामिना गरेको, सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी पुर्याएको तथा अभिलेख र वास्तविक मौज्दातबीच गम्भीर असमानता रहेको पुष्टि भएको आयोगले जनाएको छ।
उक्त आधारमा आयोगले सबै प्रतिवादीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गर्दै बिगो असुल, जरिवाना तथा कानुनबमोजिम सजायको माग गरेको छ।






Comment