२० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आज ३ बजेसम्म बोलकबोल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आज ३ बजेसम्म बोलकबोल



काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ।

केन्द्रीय बैंकले सोमबार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ जारी गर्न लागेको हो। यस ऋणपत्रका लागि आज अपराह्न ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल हुनेछ। बोलकबोलबाट प्राप्त प्रस्तावका आधारमा ऋणपत्रको ब्याजदर निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।

यस ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्। बैंकिङ प्रणालीमा हाल पर्याप्त तरलता रहेको अवस्थामा बजारबाट अतिरिक्त रकम खिच्न राष्ट्र बैंकले नियमित मौद्रिक उपकरणका रूपमा ऋणपत्र जारी गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ। यसको साँवा २०८४ असार २२ गते भुक्तानी हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिनेछ।

बोलपत्र न्यूनतम ५ करोड रुपैयाँदेखि पेस गर्न सकिनेछ। त्यसपछि ५ करोड रुपैयाँकै गुणकमा कुल आह्वान गरिएको २० अर्ब रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा तथा ऋणपत्रजस्ता मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। पछिल्लो ऋणपत्र जारी गर्ने निर्णय पनि सोही रणनीतिको निरन्तरता मानिएको छ।

प्रकाशित : 6 July, 2026 12:54 pm