काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड उल्लंघन गर्ने आधा दर्जन लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका संस्था, नियम विपरीत निर्णय गर्ने सञ्चालक समिति तथा निर्देशन उल्लंघन गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको सुपरिवेक्षणका आधारमा कारबाही गरिएको हो।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका अनुसार न्यूनतम पुँजीकोष अनुपात कायम नगरेका पाँच लघुवित्त संस्थामाथि ‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४’ को विनियम ३(क) बमोजिम सुधारात्मक कारबाही गरिएको छ।
कारबाहीमा परेका संस्थामध्ये आरम्भ चौतारी लघुवित्तले २०८२ असार मसान्तमा ७.७७ प्रतिशत, गणपति लघुवित्तले २०८२ असोज मसान्तमा ६.०६ प्रतिशत, सामुदायिक लघुवित्तले ६.१२ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्तले ६.०१ प्रतिशत तथा सिवाईसी नेपाल लघुवित्तले ६.२० प्रतिशत मात्रै पुँजीकोष अनुपात कायम गरेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, धौलागिरि लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले कर्मचारी सेवा विनियमावली विपरीत नायब कार्यकारी अधिकृतलाई पुनर्बहाली गराउनुका साथै स्पष्ट आधारबिना सेवामा नरहेको अवधिको पारिश्रमिक भुक्तानी गरेको भेटिएपछि अध्यक्षसहित सम्पूर्ण सञ्चालक समितिलाई भविष्यमा यस्ता कार्य नगर्न सचेत गराइएको छ।
सिवाईसी नेपाल लघुवित्तको सञ्चालक समितिले सवारी साधन खरिद गर्दा आर्थिक प्रशासन विनियमावलीले तोकेको खर्च सीमा र अख्तियारी पालना नगरेको पाइएपछि त्यस संस्थाका अध्यक्षसहित सञ्चालकहरूलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ।
उता नेरुडे मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याललाई कर्जा नोक्सानी व्यवस्था बापत फिर्ता गरिएको ८१.५५ करोड रुपैयाँको विवरण यकिन नगरी आम्दानीमा देखाएको तथा आवश्यक विवरण लुकाएको भन्दै भविष्यमा यस्तो कार्य नदोहोर्याउन निर्देशनसहित सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।






Comment