काठमाडौं । मानिसको सफलताको कथा प्रायः ठूलो लगानी, आधुनिक प्रविधि वा असाधारण अवसरसँग जोडिएर सुनिन्छ । तर कहिलेकाहीँ यस्ता कथाहरू पनि जन्मिन्छन्, जहाँ सफलताको आधार कुनै महँगो स्रोत होइन, समाजले बेवास्ता गरेको वस्तु हुन्छ । महोत्तरीको पिपरा गाउँपालिका–७, दनौलीका अमरेन्द्र कुमार ठाकुरको जीवन त्यही उदाहरण हो।
धेरैका लागि गोबर केवल मल हो, कतिपयका लागि फोहोर । तर अमरेन्द्रले त्यही गोबरमा सम्भावना देखे । उनले त्यसमा कला देखे, संस्कृति देखे, वातावरण संरक्षणको माध्यम देखे र आर्थिक आत्मनिर्भरताको आधार देखे। यही फरक दृष्टिकोणले उनलाई आज ‘गोवर्धन दाई’ को नामले परिचित बनाएको छ । उनको कथा केवल एक उद्यमीको सफलता कथा होइन, सोच परिवर्तनको कथा हो। उपहासलाई प्रेरणामा बदल्ने कथा हो। जसले संसाधनभन्दा ठूलो कुरा दृष्टिकोण हुन्छ भन्ने प्रमाणित गर्छ ।
लकडाउनले बदलिदिएको रुपरेखा
कोरोना महामारीले विश्वभरका करोडौं मानिसको जीवन प्रभावित बनायो। नेपाल पनि त्यसबाट अछुतो रहेन। कतिपयको रोजगारी गुम्यो, कतिपयको व्यवसाय बन्द भयो। तर केही मानिसले यही संकटभित्र अवसर पनि खोजे। अमरेन्द्रका लागि पनि कोरोना महामारी जीवनको मोड बन्न पुग्यो। त्यसअघि उनी ‘एकल विद्यालय एकल अभियान’ नामक संस्थासँग आबद्ध थिए। संस्थामा उनको मुख्य जिम्मेवारी गौ संरक्षण, स्थानीय गाईको महत्व र यसको उपयोगिताबारे जनचेतना फैलाउने थियो। यही कामका कारण उनी गाई, गोवर र ग्रामीण जीवनसँग नजिक थिए। तर गोवरलाई व्यवसायिक उत्पादनमा रूपान्तरण गर्ने सोच भने त्यतिबेला आएको थिएन।
लकडाउनका दिनमा उनी घरमै थिए। समय बिताउन कहिले किताब पढ्थे, कहिले युट्युब हेर्थे। एक दिन युट्युबमै उनले भारतका केही उद्यमीहरूले गाईको गोबरबाट मूर्ति, धुप, सजावटी सामग्री र विभिन्न धार्मिक वस्तु बनाइरहेको भिडियो देखे। त्यो भिडियो हेरेपछि उनको मनमा एउटा प्रश्न जन्मियो । ‘भारतमा सम्भव छ भने नेपालमा किन सम्भव हुँदैन ? ’त्यही प्रश्नले नयाँ यात्राको ढोका खोल्यो ।

जिज्ञासादेखि नागपुरसम्मः एउटा सपनाको खोजी
धेरै मानिसले सामाजिक सञ्जालमा देखिएका भिडियो हेरेर बिर्सिन्छन्। तर ठाकुरका लागि एउटा भिडियोले जीवनको नयाँ अध्याय सुरु गरिदियो। गोवरबाट भगवानका मूर्ति र विभिन्न सजावटी सामग्री बनाइएको भिडियो देखेपछि उनको मनमा एउटा प्रश्न जन्मियो । के यस्तो काम नेपालमै गर्न सकिँदैन र ?
त्यसपछि उनी उत्तर खोज्न जुटे । गोवरबाट उत्पादन बनाउने प्रविधि, आवश्यक सामग्री, बजारको सम्भावना र उत्पादन प्रक्रियाबारे गहिरो अध्ययन गर्न थाले। नेपालमा उपलब्ध स्रोतसाधनले कति साथ दिन सक्छन्, विदेशी सामग्रीको विकल्प के हुन सक्छ, स्थानीय स्तरमै उत्पादन सम्भव छ कि छैन भन्ने जस्ता प्रश्नले उनलाई निरन्तर घच्घच्याइरहे।
दिनभर अध्ययन गर्ने र रातभर प्रयोग गर्ने उनको दैनिकी बन्यो। सुरुमा कुनै ठोस व्यवसायिक योजना थिएन। केवल सिक्ने र बुझ्ने उत्कट जिज्ञासा मात्र थियो। तर समयसँगै त्यही जिज्ञासा लक्ष्यमा बदलिँदै गयो। ‘पहिलोपटक गोवरबाट मूर्ति बनाउन खोज्दा सफल हुन्छु भन्नेभन्दा पनि केही नयाँ सिक्ने उत्साह बढी थियो,’ उनी विगत सम्झिन्छन्।
यही उत्साहले उनलाई नेपालका सीमाना पार गराएर भारतको नागपुरसम्म पु¥यायो। गोवरबाट मूर्ति तथा सजावटी सामग्री बनाउन आवश्यक पर्ने विशेष डाइस (मोल्ड) नेपालमा सहजै उपलब्ध थिएनन्। त्यसैले उनले आर्थिक अभाव र पारिवारिक जिम्मेवारीका बाबजुद नागपुर जाने निर्णय गरे।
नागपुरमा उनले उत्पादन प्रविधि नजिकबाट सिके, विभिन्न प्रकारका डाइस र आवश्यक सामग्रीबारे जानकारी लिए तथा आफ्नै लगानीमा महँगा मोल्ड खरिद गरेर नेपाल फर्किए। तर उनको वास्तविक परीक्षा भने त्यसपछि सुरु हुन लागेको थियो।
असफलता, व्यंग्य र अडिग आत्मविश्वास
नेपाल फर्किएपछि अमरेन्द्रले गोवरबाट उत्पादन बनाउने आफ्नो सपनालाई वास्तविकतामा बदल्ने निरन्तर प्रयास सुरु गरे। गोवरको मात्रा मिलाउनेदेखि सामग्रीको सही संयोजन, सुकाउने तरिका र उत्पादनलाई मजबुत बनाउनेसम्मका हरेक चरणमा उनले अनगिन्ती प्रयोग गरे। तर सुरुवाती अधिकांश प्रयास असफलतामै टुंगिए । कतिपटक मूर्ति फुटे, कतिपटक आकार बिग्रियो, कहिले सुक्दा चिरा प-यो त कहिले रंग र बनावट अपेक्षाअनुसार आएन। तर प्रत्येक असफलतासँगै उनले नयाँ पाठ सिके र फेरि प्रयास दोहो-याए।
व्यवसायिक चुनौतीसँगै सामाजिक चुनौती पनि उत्तिकै कडा थियो। गाउँमा गोवर संकलन गर्दै हिँड्दा मानिसहरूको हाँसो, व्यंग्य र अविश्वास उनका लागि सामान्य जस्तै बने। ’गोवरसँग खेल्ने मान्छे’ भन्ने टिप्पणीदेखि ‘यसबाट केही हुँदैन’ भन्ने निराशाजनक भनाइसम्म उनले धेरै सुन्नुपर्यो।
तर अमरेन्द्रले आलोचनालाई रोकावट होइन प्रेरणा बनाए। उनी प्रतिक्रियामा अल्झिएनन्, काममा केन्द्रित रहे। समयसँगै उनका उत्पादन गुणस्तरीय बन्दै गए । बजारमा माग बढ्न थाल्यो र हिजो हाँसो उडाउनेहरू नै आज उनको मेहनतको प्रशंसा गर्न थाले।
गोबरबाट जन्मिएका भगवान
आज अमरेन्द्रले बनाउने उत्पादनहरूको सूची निकै लामो छ । उनले गोवरबाट भगवान गणेश, लक्ष्मी, सरस्वती, शिव लगायतका देवीदेवताका मूर्तिहरू बनाउँछन् । त्यसबाहेक धुप, दियो, पूजा सामग्री, घर सजाउने सामग्री, उपहार सामग्री र विभिन्न हस्तकलाका वस्तु पनि उत्पादन गर्छन्। पहिलो नजरमै ती सामग्री गोवरबाट बनेका हुन् भन्ने विश्वास गर्न गाह्रो हुन्छ। सफा फिनिसिङ, आकर्षक डिजाइन र कलात्मक प्रस्तुतीकरणले उत्पादनलाई अलग पहिचान दिएको छ।
विशेषगरी धार्मिक तथा सांस्कृतिक महत्व भएका वस्तुहरू ग्राहकबीच लोकप्रिय बन्दै गएका छन्।
संस्कृति र प्रकृतिको संगम
अमरेन्द्रका लागि यो केवल व्यापार होइन। उनको दृष्टिमा यो संस्कृति संरक्षणको अभियान पनि हो। उनी भन्छन्, ’हाम्रो संस्कृति प्रकृतिसँग जोडिएको छ। पूजा, संस्कार, परम्परा सबैमा प्राकृतिक वस्तुको प्रयोग हुन्थ्यो। अहिले प्लास्टिक र रासायनिक सामग्रीले त्यो स्थान लिँदै गएका छन्।’
उनका उत्पादनहरूले परम्परागत नेपाली जीवनशैलीलाई आधुनिक स्वरूपमा प्रस्तुत गरिरहेका छन्। गोवरबाट बनेका भगवानका मूर्तिहरू धार्मिक आस्थासँग जोडिन्छन् भने वातावरणमैत्री गुणले आधुनिक उपभोक्तालाई पनि आकर्षित गर्छन्।
वातावरण संरक्षणको सन्देश
विश्व अहिले प्लास्टिक प्रदूषणको संकटसँग जुधिरहेको छ । नेपालका नदी, खोला र शहरहरू पनि प्लास्टिकजन्य फोहोरले प्रभावित छन्। यस्तो अवस्थामा गोवरबाट बनेका सामग्री वातावरणमैत्री विकल्पको रूपमा देखिएका छन्। अमरेन्द्र भन्छन्, ’प्लास्टिकको मूर्ति फुट्यो भने फोहोर बन्छ । गोवरको मूर्ति फुट्यो भने मल बन्छ।’ उनका उत्पादन प्राकृतिक रूपमा माटोमा मिसिन्छन्। कुनै रासायनिक प्रदूषण गर्दैनन्। यही विशेषताका कारण वातावरण संरक्षणमा रुचि राख्ने ग्राहकहरू आकर्षित भइरहेका छन्।
प्राकृतिक धुपको बढ्दो माग
उनको व्यवसायको अर्को महत्वपूर्ण उत्पादन हो,धुप। बजारमा पाइने धेरै धुपहरूमा रासायनिक पदार्थ प्रयोग हुने भएकाले कतिपय मानिसलाई एलर्जी वा श्वासप्रश्वाससम्बन्धी समस्या हुन सक्छ। तर अमरेन्द्रले गोवर, जडीबुटी र प्राकृतिक सुगन्धित पदार्थ प्रयोग गरेर धुप बनाउँछन्। उनका अनुसार प्राकृतिक धुपले वातावरणलाई शुद्ध राख्न सहयोग पुर्याउँछ। धेरै ग्राहकले यही कारणले उनका धुपलाई प्राथमिकता दिन थालेका छन्।
डिजिटल विस्तारसम्मको लक्ष्य
अमरेन्द्रको व्यवसाय आज हेर्दा ठूलो देखिएपनि यसको सुरुवात केवल १५ देखि २० हजार रुपैयाँको सानो लगानीबाट भएको थियो। त्यही रकमबाट उनले केही डाइस, कच्चा पदार्थ र आवश्यक उपकरण जुटाएर उत्पादनको यात्रा सुरु गरे।
सुरुवाती चरणमा उनको बजार निकै सीमित थियो। उनी स्थानीय मेला, प्रदर्शनी, धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा आफ्ना उत्पादन लिएर पुग्थे। त्यही उपस्थितिबाट क्रमशः उत्पादनको पहिचान बन्न थाल्यो र एक ग्राहकबाट अर्को ग्राहकसम्म सिफारिस फैलिँदै बजार विस्तार हुँदै गयो।
तर अमरेन्द्र अझै पनि आफूलाई यात्राको प्रारम्भिक चरणमै रहेको मान्छन्। पर्याप्त पूँजी, आधुनिक प्रविधि र मार्केटिङ ज्ञानको कमीका कारण उनी अझै पूर्ण रूपमा डिजिटल बजारमा प्रवेश गर्न सकेका छैनन्।
यद्यपि उनको सपना स्पष्ट छ। सामाजिक सञ्जाल, ई–कमर्स प्लेटफर्म र अनलाइन डेलिभरीमार्फत आफ्ना उत्पादनलाई देशभर पु¥याउने। सही प्रवद्र्धन र अवसर पाए गोवरबाट बनेका नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारसम्म पनि आफ्नो पहिचान बनाउन सक्छ भन्नेमा उनी ढुक्क छन्।
सम्मानले थपेको जिम्मेवारी
अमरेन्द्रको कामले विभिन्न संस्थाको ध्यान पनि आकर्षित गर्यो । उनको सिर्जनात्मक योगदानको मूल्यांकन गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उनलाई सम्मानपत्र प्रदानगर्यो। यो सम्मान उनका लागि केवल पुरस्कार थिएन। यो समाजले उनको कामलाई स्वीकार गरेको प्रमाण थियो। ’सम्मानले खुशी मात्र होइन, जिम्मेवारी पनि बढाउँछ’ उनी भन्छन्।
ग्रामीण अर्थतन्त्रमा जोड्ने सपना
अमरेन्द्रको सपना केवल व्यक्तिगत सफलतामा सीमित छैन। उनी आफ्नो सीप अरूलाई पनि हस्तान्तरण गर्दै रोजगारी सिर्जना गर्ने लक्ष्य राख्छन्। विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरू, बेरोजगार युवा र स्वरोजगार खोजिरहेका व्यक्तिहरूलाई तालिम दिएर आत्मनिर्भर बनाउने उनको योजना छ। उनका अनुसार गोवरबाट उत्पादन बनाउने उद्योग गाउँमै रोजगारी सिर्जनाको नयाँ माध्यम बन्न सक्छ।
‘यदि गाउँका महिलाहरूले यो सीप सिके भने घरमै बसेर आम्दानी गर्न सक्छन्’ उनी भन्छन्। उनको कामको अर्को महत्वपूर्ण पक्ष गौ संरक्षणसँग जोडिएको छ । नेपालका धेरै ठाउँमा दूध दिन छाडेका गाईलाई बोझ ठानेर छाड्ने प्रवृत्ति बढ्दै गएको छ। तर गोवरको आर्थिक उपयोग स्थापित गर्न सकिए यो सोच परिवर्तन गर्न सकिन्छ भन्ने उनको विश्वास छ। ‘यदि गोवर नै आम्दानीको स्रोत बन्यो भने कसैले गाईलाई बोझ ठान्दैन’ उनी भन्छन् । यसरी उनी सीप, रोजगारी र गौ संरक्षणलाई एउटै सूत्रमा जोड्दै ग्रामीण क्षेत्रमा आत्मनिर्भर अर्थतन्त्रको सम्भावना देखिरहेका छन्।
अवसर आफ्नै वरिपरि हुन्छ, सोच बदल्न सके भविष्य बदलिन्छ
४० वर्षको उमेरमा नयाँ व्यवसाय सुरु गरेर पहिचान बनाउन सजिलो हुँदैन, तर अमरेन्द्र कुमार ठाकुरले त्यो चुनौतीलाई सम्भव बनाए। उनको अनुभवले आजभोलीको युवाहरूलाई अवसर सधैं बाहिर खोज्नुपर्दैन, कहिलेकाहीँ त्यो आफ्नै घरआँगनमा लुकेको हुन्छ, केवल फरक दृष्टिकोणले हेर्नु आवश्यक हुन्छ भन्ने एउटा गतिलो सन्देश दिन्छ । उनी युवाहरूलाई स्थानीय स्रोत, परम्परागत ज्ञान र आधुनिक प्रविधिलाई जोडेर नयाँ सम्भावनाहरू खोज्न प्रेरित गर्छन्।
महोत्तरीको एउटा गाउँबाट सुरु भएको उनको यात्रा आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। अमरेन्द्रले अरूले फोहोर देखेको ठाउँमा अवसर देखे, गोवरमा केवल मल होइन, कला, व्यवसाय र समाज परिवर्तनको सम्भावना देखे। आज ‘गोवर्धन दाई’ एउटा नाम मात्र होइन, एउटा विचार बनेका छन् । संसाधनको कमी होइन, सोचको सीमाले अवसर रोक्छ भन्ने विचार। उनको कथाले सिकाउँछ कि सफलताको सुरुवात ठूलो लगानीबाट होइन, ठूलो दृष्टिकोणबाट हुन्छ। र कहिलेकाहीँ सबैभन्दा कम मूल्य दिइएको वस्तुले नै जीवनको सबैभन्दा ठूलो सम्भावना बोकेको हुन्छ।






Comment