काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले अर्थतन्त्रका केही सूचकमा सुधार देखिए पनि उत्पादनमूलक उद्योग क्षेत्र अझै दबाबमा रहेको संकेत गरेको छ। प्रतिवेदनअनुसार उद्योगहरूको उत्पादन र क्षमता उपयोग दुवै कमजोर बनेका छन्, जसले औद्योगिक गतिविधि अपेक्षित रूपमा पुनरुत्थान हुन नसकेको देखाउँछ।
राष्ट्र बैंकको अध्ययनअनुसार उद्योगहरूको औसत क्षमता उपयोग घटेर ४२.११ प्रतिशतमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा यो दर ४२.९४ प्रतिशत रहेको थियो। यसबाट अधिकांश उद्योगहरू आफ्नो कुल क्षमताको आधाभन्दा कम स्तरमा सञ्चालन भइरहेको स्पष्ट हुन्छ।
सर्वेक्षणमा समेटिएका २१ समूहअन्तर्गतका ५२ प्रकारका उत्पादनमध्ये २८ वटा वस्तुको उत्पादनमा गिरावट आएको पाइएको छ। यसले उत्पादनमूलक उद्योगको ठूलो हिस्सा अझै चुनौतीपूर्ण अवस्थामा रहेको देखाउँछ।
दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगहरूमा पनि उत्पादन घटेको छ। वनस्पति घिउ, तोरीको तेल, प्रशोधित दूध, बिस्कुट, चिया, हल्का पेय पदार्थ तथा चुरोट उत्पादनमा कमी आएको छ। त्यस्तै कपडा, जुटजन्य सामग्री, छाला उद्योग, प्लाइउड, कागज तथा विद्युत् उत्पादन क्षेत्रमा समेत गिरावट देखिएको छ।
उत्पादनमा सबैभन्दा ठूलो गिरावट छालाका जुत्ता उद्योगमा देखिएको छ, जहाँ उत्पादन ५८.३३ प्रतिशतले खुम्चिएको छ। जीआई पाइप उत्पादन ५२.५१ प्रतिशत र विद्युत् तार तथा केबल उत्पादन ४४.०४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकले निर्माण तथा पूर्वाधारसँग सम्बन्धित उद्योगहरूमा आएको कमजोरीलाई विशेष चिन्ताको विषयका रूपमा औंल्याएको छ। निर्माण गतिविधिमा आएको सुस्ती, बजारमा कमजोर माग तथा राजनीतिक अनिश्चितताका कारण सिमेन्ट, इँट्टा, कंक्रिट र जीआई तारजस्ता निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू प्रभावित भएका छन्। यसले पूर्वाधार विकासको गति पनि सुस्त रहेको संकेत गरेको छ।
यद्यपि केही उद्योगहरूले उल्लेखनीय सुधार पनि देखाएका छन्। स्टिलजन्य उत्पादनमा १२०.५५ प्रतिशत तथा चिनी उत्पादनमा ११४.८६ प्रतिशतको वृद्धि भएको छ। भटमासको तेल, चामल, गहुँको पिठो, पशुदाना, चकलेट, चाउचाउ, मदिरा तथा औषधि उत्पादनमा समेत सकारात्मक वृद्धि देखिएको छ।
क्षमता उपयोगको हिसाबले गार्मेन्ट उद्योग सबैभन्दा प्रभावकारी देखिएको छ। यस क्षेत्रले ९५.७४ प्रतिशत क्षमता उपयोग गरेको छ भने अन्य लत्ताकपडा उद्योगहरू पनि करिब ९० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्।
औद्योगिक उत्पादन कमजोर भए पनि बाह्य क्षेत्रका सूचकमा भने सुधार देखिएको छ। समीक्षा अवधिमा वस्तु निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै आयात १४.१८ प्रतिशतले वृद्धि भई ९ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। निर्यात वृद्धि भए पनि आयातको उच्च परिमाणका कारण व्यापार घाटा अर्थतन्त्रको प्रमुख चुनौतीकै रूपमा कायम रहेको छ।
पर्यटन तथा सेवा क्षेत्रले भने अर्थतन्त्रलाई केही राहत दिएको देखिन्छ। अध्ययन अवधिमा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन्। साथै करिब ३ लाख ९६ हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएको तथ्यांकले आगामी महिनाहरूमा रेमिट्यान्स प्रवाह थप मजबुत हुने अपेक्षा गरिएको छ।
कृषि क्षेत्रमा मिश्रित अवस्था देखिएको छ। खाद्यान्न बाली उत्पादन ६.७६ प्रतिशत र दूध उत्पादन २५.९७ प्रतिशतले घटेको छ। तरकारी, फलफूल तथा अन्डा उत्पादनमा भने सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ क्षेत्रतर्फ निक्षेप र कर्जा प्रवाह दुवै बढेका छन्, जसले वित्तीय प्रणालीमा तरलता विस्तार भएको संकेत गरेको छ। घरजग्गा कारोबारको संख्या घटे पनि यस क्षेत्रबाट संकलित राजस्वमा वृद्धि देखिएको छ।
प्रतिवेदनले उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रमा देखिएको सुस्ती दीर्घकालीन आर्थिक वृद्धिका लागि चुनौतीपूर्ण हुन सक्ने निष्कर्ष निकालेको छ। उद्योग क्षेत्रको उत्पादन क्षमता वृद्धि, लगानी विस्तार र रोजगारी सिर्जनाका लागि नीतिगत तथा संरचनात्मक सुधार आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ।






Comment