काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार देशको आर्थिक तथा वित्तीय स्थिति समग्रमा स्थिर र सुधारोन्मुख देखिएको छ। मुद्रास्फीति नियन्त्रणमा रहँदा विदेशी मुद्राको सञ्चिति बलियो बनेको छ भने विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ भने सोही वर्षको दश महिनाको औसत मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित छ।अर्थतन्त्र सुधारोन्मुख: मुद्रास्फीति नियन्त्रणमा, विप्रेषण र सञ्चिति उकालोमा
विदेशी विनिमय सञ्चिति हाल करिब रु. ३७०४ अर्ब रहेको छ, जुन अमेरिकी डलरमा २४ अर्ब १९ करोड बराबर हुन्छ। यसले करिब १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता रहेको राष्ट्र बैंकले जनाएको छ।
चालु खाता रु. ७२९ अर्ब २८ करोड र शोधनान्तर रु. ८६३ अर्बभन्दा बढी बचतमा रहेको छ, जसले बाह्य क्षेत्र सुदृढ भएको संकेत गर्दछ।
विप्रेषण आप्रवाहमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। नेपाली रुपैयाँमा ४१.२ प्रतिशत र अमेरिकी डलरमा ३३ प्रतिशतले वृद्धि भई वैशाख महिनासम्म रु. २५७ अर्ब ४९ करोड विप्रेषण भित्रिएको छ।
त्यसैगरी, वस्तु निर्यात १४.२ प्रतिशत र आयात १४.८ प्रतिशतले बढेको छ। सरकारको खर्च रु. ११७३ अर्ब ५२ करोड र राजस्व परिचालन रु. ९८८ अर्ब ५५ करोड पुगेको छ।
बैंक तथा वित्तीय क्षेत्रमा विस्तृत मुद्राप्रदाय ९.२ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भएको छ। वाणिज्य बैंकहरूको औसत कर्जा ब्याजदर ६.७३ प्रतिशत र निक्षेप ब्याजदर ३.३५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
अर्थतन्त्रका सूचकहरूमा देखिएको यो सुधारले बाह्य क्षेत्र सुदृढ हुँदै गएको र वित्तीय प्रणाली स्थिर बन्दै गएको संकेत गरेको छ।






Comment