सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुना नेपालका लागि अध्ययनयोग्य : एनआईआईसीई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुना नेपालका लागि अध्ययनयोग्य : एनआईआईसीई



काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एनआईआईसीई) ले शनिबार ललितपुरको हात्तीवनस्थित आफ्नो सेमिनार हलमा “सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुना: के नेपालमा लागू गर्न सकिन्छ ?” विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा सिंगापुरले विकासशील राष्ट्रबाट विश्वकै समृद्ध अर्थतन्त्रमध्ये एकमा रूपान्तरण हुन हासिल गरेको सफलताको अध्ययन गर्दै नेपालले त्यसबाट सुशासन, भ्रष्टाचार नियन्त्रण तथा नवप्रवर्तन-आधारित विकासका क्षेत्रमा लिन सक्ने पाठबारे विचार–विमर्श गरिएको थियो।

कार्यक्रमका प्रमुख वक्ता सिंगापुरको सोसाइटी अफ फाइनान्सियल सर्भिस प्रोफेसनल्सका पूर्व अध्यक्ष लियोङ से हायनले सिंगापुरको विकास यात्रासम्बन्धी अनुभव साझा गर्दै देशको आर्थिक सफलताका पछाडि प्रभावकारी संस्थागत संरचना, दीर्घकालीन योजना तथा बदलिँदो परिस्थितिअनुसार निरन्तर अनुकूलन गर्ने क्षमताले महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले सिंगापुरको सफलता कुनै एकल नीतिको परिणाम नभई सुशासन, व्यवसाय सञ्चालनको सहजता, प्रतिस्पर्धात्मकता तथा प्रभावकारी सार्वजनिक प्रशासनको संयुक्त उपलब्धि भएको उल्लेख गरे। भ्रष्टाचार नियन्त्रणबारे बोल्दै उनले स्वतन्त्र संस्थागत संरचना, कडा कानुनी कार्यान्वयन तथा दण्ड प्रणालीको संयोजनले भ्रष्टाचारलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न मद्दत गरेको बताए।

उनका अनुसार भ्रष्टाचारमा संलग्न जोसुकै व्यक्ति भए पनि कानुनी कारबाहीको दायरामा ल्याइने भएकाले कानुनी शासनप्रति जनविश्वास कायम रहन सहयोग पुगेको छ।

लियोङले सिंगापुरको आर्थिक मोडेलले वित्तीय अनुशासन र सामाजिक सुरक्षाबीच सन्तुलन कायम गरेको उल्लेख गर्दै सन्तुलित बजेट, विवेकपूर्ण सार्वजनिक खर्च तथा दीर्घकालीन वित्तीय दिगोपनलाई सिंगापुरले निरन्तर प्राथमिकता दिएको बताए। आवास, स्वास्थ्य सेवा तथा निवृत्तिभरणका क्षेत्रमा लक्षित सामाजिक सहयोगमार्फत सरकारले नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउँदै आर्थिक दक्षता कायम राख्न सफल भएको उनको भनाइ थियो।

छलफलका क्रममा नवप्रवर्तन–प्रेरित विकास पनि प्रमुख विषयका रूपमा उठाइएको थियो। लियोङले “सामान्य विवेकमा आधारित नवप्रवर्तन” को अवधारणामाथि जोड दिँदै नवप्रवर्तनलाई केवल प्रविधि वा वैज्ञानिक अनुसन्धानमा सीमित नगरी समस्या समाधान, सेवा सुधार तथा कार्यदक्षता अभिवृद्धिको माध्यमका रूपमा बुझ्नुपर्ने धारणा राखे।

उनका अनुसार सिंगापुरले सीप विकास, प्रोत्साहन प्रणाली, सार्वजनिक सहभागिता तथा नयाँ विचारहरूलाई समर्थन गरेर समाजका सबै तहमा नवप्रवर्तनको संस्कृतिलाई प्रवर्द्धन गरेको छ।

कार्यक्रममा सिंगापुरको अर्को महत्वपूर्ण विशेषता आफ्ना गल्तीहरूबाट सिक्ने र समयअनुसार नीतिहरू परिमार्जन गर्ने क्षमता रहेको विषयमा पनि चर्चा गरिएको थियो। लियोङले धेरै मुलुकहरूले सिंगापुरका सफलताका पक्षहरूमा मात्र ध्यान केन्द्रित गर्ने गरेको उल्लेख गर्दै चुनौती, असफलता तथा नीतिगत अनुभवहरूबाट सिक्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।

छलफलको निष्कर्षमा सहभागीहरूले नेपालको सामाजिक, आर्थिक तथा राजनीतिक यथार्थलाई ध्यानमा राख्दै सिंगापुरका अनुभवका सान्दर्भिक पक्षहरूलाई कसरी आत्मसात् गर्न सकिन्छ भन्ने विषयमा विचार–विमर्श गरेका थिए। उनीहरूले प्रभावकारी संस्थागत सुधार, पारदर्शिता, उत्तरदायित्व तथा दीर्घकालीन विकास योजनामार्फत नेपालले पनि सुशासन र आर्थिक रूपान्तरणको दिशामा उल्लेखनीय प्रगति हासिल गर्न सक्ने धारणा व्यक्त गरेका थिए।

प्रकाशित : 8 June, 2026 11:50 am