नबिल बैंकद्वारा नेपाल-भारत क्रस बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकद्वारा नेपाल-भारत क्रस बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सञ्चालन



काठमाडौं । नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सुरु गरेको छ । यस सेवामार्फत ग्राहकले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् ।

यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकले मोबाइल बैंकिङ एप ‘एनबैंक’ प्रयोग गरी भारतमा रहेका परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन् ।

त्यस्तै, नेपाली तथा भारतीय दुवै नागरिकले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्ताहरूलाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यो सेवा दुवै देशका ग्राहकका लागि सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन डिजाइन गरिएको हो ।

‘यो सेवा सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने दिशामा महत्त्वपूर्ण कदम हो । यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवा सुधार गर्ने तथा ग्राहक सुविधालाई विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले भने ।

बैंकका अनुसार नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाखसम्म पठाउन सक्नेछन् । त्यस्तै, भारतबाट नेपालतर्फ दैनिक अधिकतम भारु २ लाखसम्म रकम पठाउन सकिनेछ भने मासिक सीमा लागू हुने छैन ।

यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेसको सहकार्यमा सञ्चालन गरिएको हो, जसले दुई देशबीच सुरक्षित तथा सहज डिजिटल लेनदेन सुनिश्चित गर्नेछ।

प्रकाशित : 8 June, 2026 11:38 am