काठमाडौँ । नेपालका चर्चित इतिहासविद् ज्ञानमणि नेपाल (१९८९ माघ १७ – २०८१ जेठ १) को दोस्रो स्मृति दिवसका अवसरमा वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा ‘इतिहास पुरुष : ज्ञानमणि’ नामक बृहत् स्मृतिग्रन्थको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा लोकार्पण गरियो।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य र न्यायशताब्दी पुरुष कृष्णप्रसाद भण्डारीको विशेष आतिथ्यमा सञ्चालित यस कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एकमणि नेपालको अध्यक्षता रहेको थियो ।
स्मृतिग्रन्थका लेखक-लेखिका तथा प्राज्ञिक क्षेत्रका लब्धप्रतिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको यस समारोहमा इतिहास, संस्कृति र साहित्यका क्षेत्रमा अनेकौँ चर्चित र उपयोगी ग्रन्थहरूको रचना र प्रकाशन गरी नेपाली समाजलाई ज्ञानमणि नेपालले पुर्याउनुभएको प्राज्ञिक सेवा अतुलनीय र गौरवशाली रहेको कुरा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उल्लेख गर्नुभयो ।
समारोहमा पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइराला, इतिहासविद् प्राध्यापक दिनेशराज पन्त, प्रा.डा. हरिप्रसाद पराजुली, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत लगायतका वक्ताहरूले स्मृतिग्रन्थ र ज्ञानमणि नेपालको प्राज्ञिक योगदानबारे चर्चा गर्नुभयो ।
प्रतिष्ठानका सचिव एवं स्मृतिग्रन्थका सम्पादक कोषराज न्यौपानेले विषय प्रवेश र स्वागत गरिएको यस समारोहमा ज्ञानमणिजस्तो उद्भट प्रतिभाशाली आधिकारिक विद्वान्, खोज र अनुसन्धानको गहिराइमा पुगेर इतिहासको प्रामाणिक तथ्यलाई अकाट्य रूपमा प्रस्तुत गर्न सक्ने अनुसन्धाता, साहित्यका क्षेत्रमा पनि तथ्यगत, तार्किक र गहिरो विश्लेषणयुक्त निर्भीक प्रस्तुति दिने समीक्षक एवं नेपाली राजनीतिक अवस्थाको केन्द्रविन्दु तथा संस्कृतिक चिन्तनको जरासम्म पुगेर प्रस्तुति दिने व्यक्तित्वका बारेमा एउटा स्थायी दस्तावेजका रूपमा यो इतिहास पुरुष : ज्ञानमणि स्मृतिग्रन्थ पठनीय र सङ्ग्रहणीय बन्न पुगेको चर्चा गरियो ।
एक्काइसौँ शताब्दीको समकालीन नेपाली सामाजिक परिवेशभित्र ऐतिहासिक, साहित्यिक र सांस्कृतिक क्षेत्रमा परैबाट टड्कारो रूपमा देखिने एउटा विराट् बौद्धिक धरोहर ज्ञानमणि नेपालका जीवनका, व्यक्तित्वका र ज्ञानका विविध पाटालाई प्रस्तुत ग्रन्थले प्रतिनिधित्व गरेको कुरा स्मृतिग्रन्थका अर्का सम्पादक प्रह्लाद पोख्रेलद्वारा जानकारी दिइयो ।
स्मृतिग्रन्थका व्यवस्थापक, प्रतिष्ठानका सहसचिव एवं ज्ञानमणि नेपालका सुपुत्र सन्तोषमणि नेपालद्वारा स्मृतिग्रन्थको प्रकाशन र यसमा समाविष्ट विविध विषयबारे विशद् रूपमा जानकारी दिँदै सबैमा धन्यवाद दिइएको थियो ।
18 May, 2026 12:27 pm






Comment