काठमाडाै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जलविद्युत क्षेत्रमा आफ्नो लगानी तीव्र रूपमा विस्तार गर्दै हालसम्म ४२ वटा आयोजनामा वित्तीय साझेदारी गरेको जनाएको छ।
गण्डकी प्रदेशको लमजुङ जिल्लामा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनासम्बन्धी बुधबार आयोजित सहवित्तीयकरण कर्जा सम्झौता कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले बैंकको ऊर्जा क्षेत्रमा बढ्दो लगानीबारे जानकारी दिएका हुन्।
उनका अनुसार बैंकले हालसम्म कुल १,६०५.२२६ मेगावाट क्षमताका ४२ जलविद्युत आयोजनामा लगानी प्रतिबद्धता जनाइसकेको छ। तीमध्ये २७४.४ मेगावाट क्षमताका १६ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् भने बाँकी १,३३०.८ मेगावाट क्षमताका २६ आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्।
यी आयोजनामा बैंकले हालसम्म करिब २३ अर्ब रुपैयाँ लगानी गरिसकेको छ। बैंकको नेतृत्वमा १८ आयोजना अघि बढाइएका छन् भने ४ आयोजनामा एकल लगानी, ३ मा सह–नेतृत्व तथा बाँकीमा सहभागी बैंकका रूपमा लगानी व्यवस्थापन भइरहेको छ।
कार्यक्रममा सीईओ पोखरेलले नेपालको ऊर्जा क्षेत्रको वर्तमान अवस्था र भविष्य सम्भावनाबारे चर्चा गर्दै हिउँद (ड्राइ सिजन) मा विद्युत आपूर्ति घट्ने चुनौती औँल्याए। हाल करिब ३,८०० मेगावाट उत्पादन क्षमता रहे पनि हिउँदमा उपलब्धता करिब १,८०० मेगावाटमा सीमित हुने भएकाले जलविद्युत आयोजनाको महत्व अझ बढेको उनले बताए।
सरकारले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन गरी निर्यात गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले उक्त लक्ष्यलाई “उत्साहजनक र सम्भावनायुक्त” भने।
उनले जलविद्युत क्षेत्रमा लगानी विस्तारले स्थानीय अर्थतन्त्र मजबुत बनाउने, रोजगारी सिर्जना गर्ने र ग्रामीण क्षेत्रमा उद्यमशीलता बढाउने भएकाले बैंकले यस क्षेत्रलाई प्राथमिकतामा राखेको स्पष्ट पारे।
तर, बैंकहरूले ऊर्जा क्षेत्रमा अझ ठूलो लगानी गर्न सक्ने अवस्था भए पनि नियामक तहबाट नीतिगत सहजीकरण आवश्यक रहेको उनको भनाइ थियो। बैंकहरूको जलविद्युत क्षेत्रमा लगानी सीमा २० प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य भए पनि पुँजी दबाब बढ्दै गएको उनले बताए।
उनका अनुसार हाइड्रो क्षेत्रमा लगानीको ‘रिस्क वेट’ १०० प्रतिशतबाट घटाएर ५० प्रतिशत वा सोभन्दा कम गरिएमा बैंकहरूको लगानी क्षमता उल्लेख्य रूपमा वृद्धि हुनेछ।
बैंकले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जलविद्युत आयोजनामा सक्रिय रूपमा लगानी गर्दै आएको छ। निजी क्षेत्र र बैंकिङ क्षेत्रको संयुक्त लगानीले देशको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।
मर्स्याङ्दी बेसी आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा नेपाल बैंक लिमिटेड र सानिमा बैंक पनि सहभागी हुने भएका छन्। सीईओ पोखरेलले सहकार्य गर्ने बैंकहरूलाई धन्यवाद दिँदै प्रवर्द्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेडलाई आयोजना समयमै सम्पन्न गर्न शुभकामना समेत दिएका छन्।
‘बैंक अफ द इयर २०२४’ र ‘२०२५’ बाट सम्मानित सिटिजन्स बैंकले ऊर्जा क्षेत्रसँगै डिजिटल बैंकिङमा पनि नवीनता ल्याएको छ। बैंकले ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘जेन–जी सेभिङ अकाउन्ट’ र ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ जस्ता सेवाहरू सञ्चालनमा ल्याएको छ।
हाल बैंकले ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख २१ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।






Comment