काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एभरेष्ट बैंक लिमिटेडले मिश्रित वित्तीय प्रदर्शन सार्वजनिक गरेको छ। बैंकको खुद नाफा घटेको देखिए पनि आम्दानीका अन्य सूचक र व्यवसायको आकारमा भने सकारात्मक सुधार देखिएको छ।
सार्वजनिक अपरिष्कृत विवरण अनुसार बैंकले चैत मसान्तसम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.७१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफामा दबाब देखिए पनि बैंकको मुख्य आम्दानी स्रोत भने बढेको छ। खुद ब्याज आम्दानी सामान्य वृद्धि हुँदै ६ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ पुगेको छ। साथै कुल सञ्चालन आम्दानी पनि ९.२२ प्रतिशतले बढेर ८ अर्ब ९३ करोड १० लाख रुपैयाँ पुगेको छ।
तर सञ्चालन मुनाफामा भने केही गिरावट आएको छ। अघिल्लो वर्ष ५ अर्ब ८ करोड ३३ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा घटेर ४ अर्ब ९० करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ।
व्यवसाय विस्तारतर्फ बैंकले उल्लेख्य प्रगति गरेको देखिन्छ। चैत मसान्तसम्म बैंकले ३ खर्ब २ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ५० अर्ब ८७ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
वित्तीय अवस्थातर्फ बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ५० करोड ८८ लाख रुपैयाँ सञ्चित छ। प्रतिशेयर आम्दानी (EPS) ३२.३५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २४४.२७ रुपैयाँ कायम रहेको छ।
सकारात्मक पक्षमा बैंकको खराब कर्जा अनुपात घटेको छ। गत वर्ष ०.६४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर ०.६१ प्रतिशतमा झरेको छ, जसले कर्जा गुणस्तरमा सुधार देखाउँछ। बैंकको बेस रेट ४.५७ प्रतिशत र सिडी रेसियो ८५.८८ प्रतिशत रहेको छ।






Comment