सामसङले ग्यालेक्सी ए५७ फाइभजी र ए३७ फाइभजी सार्वजनिक गर्दै, अफर सहित प्रि–अर्डर खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सामसङले ग्यालेक्सी ए५७ फाइभजी र ए३७ फाइभजी सार्वजनिक गर्दै, अफर सहित प्रि–अर्डर खुला



काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ ए सिरिजअन्तर्गत ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारका लागि सार्वजनिक गर्दै प्रि–अर्डर खुला गरेको छ। कम्पनीका अनुसार यी दुई स्मार्टफोन आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली र उन्नत सफ्टवेयर सुविधासहित बजारमा ल्याइएका हुन्।

कम्पनीले पेशेवर, विद्यार्थी र दैनिक प्रयोगकर्तालाई लक्षित गर्दै सार्वजनिक गरेको यो नयाँ सिरिजले दैनिक कामलाई अझ सहज, छिटो र स्मार्ट बनाउने उद्देश्य राखेको जनाएको छ। नेपालमा यी दुवै मोडलको प्रि–अर्डर अप्रिल ५ देखि अप्रिल १८ सम्म वा स्टक उपलब्ध रहेसम्म खुला रहने सामसङ नेपालले जानकारी दिएको छ।

यस अवसरमा एमएक्स बिजनेस, सामसङ नेपालका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापितले नयाँ ग्यालेक्सी ए सिरिजले कृत्रिम बुद्धिमत्ता अर्थात् एआईलाई अझ धेरै प्रयोगकर्तासम्म पुर्‍याउने कम्पनीको प्रतिबद्धता झल्काउने बताए। सामसङको मुख्य प्रविधिसँग ‘असम इन्टेलिजेन्स’ जोडिएपछि ग्यालेक्सी ए५७ फाइभजी र ए३७ फाइभजीले दैनिक प्रयोगका लागि भरपर्दो र सहज अनुभव दिनेछन्। साथै २४ महिनासम्मको ईएमआई सुविधा ल्याएर अत्याधुनिक प्रविधिलाई अझ धेरै प्रयोगकर्ताका लागि पहुँचयोग्य बनाइएको बताए।

नयाँ ए सिरिजका यी स्मार्टफोनमा वान यूआई ८.५ मार्फत सामसङको उन्नत असम इन्टेलिजेन्स सुविधा उपलब्ध गराइएको छ। यसअन्तर्गत भ्वाइस ट्रान्सक्रिप्सन ले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्स्टमा रूपान्तरण गर्न सहयोग गर्नेछ। त्यस्तै एआई सेलेक्टले स्क्रिनमा देखिएका वस्तु वा सामग्रीलाई सजिलै चयन र प्रयोग गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ। फोटो र भिडिओ सम्पादनलाई अझ सहज बनाउन अब्जेक्ट इरेजर, फिल्टर्स र एडिट सजेसन्स जस्ता टुलहरू पनि समावेश गरिएको छ। विशेषगरी ग्यालेक्सी ए५७ फाइभजीमा बेस्ट फेस र अटो ट्रिम जस्ता अतिरिक्त सुविधा भएको र यसले तस्बिर र भिडिओलाई अझ राम्रो बनाउन सहयोग गर्ने जनाएको छ।

त्यसैगरी गुगलको सर्कल टु सर्च सुविधा अब मल्टिअब्जेक्ट रिकग्निसन सहित उपलब्ध गराइएको छ। यसले प्रयोगकर्तालाई एकैपटक स्क्रिनमा रहेका विभिन्न वस्तु वा सामग्री सजिलै खोज्न सक्ने सुविधा दिनेछ। कम्पनीले अपग्रेड गरिएको बिक्स्बी र जेमिनाइ मार्फत अझ स्वाभाविक र सहज संवाद अनुभव पनि उपलब्ध हुने जनाएको छ। कम्पनीका अनुसार ग्यालेक्सी ए५७ फाइभजी र ए३७ फाइभजी दुवैमा ५० मेगापिक्सेल मुख्य क्यामेरा सहितको ट्रिपल क्यामेरा सेटअप दिइएको छ। नाइटोग्राफी र सुधारिएको आईएसपीका कारण कम प्रकाशमा पनि स्पष्ट तस्बिर र भिडिओ खिच्न सकिने कम्पनीको दाबी छ।

विशेषगरी ग्यालेक्सी ए५७ फाइभजीमा अझ राम्रो इमेज प्रोसेसिङ, छिटो शटर स्पिड र उच्च डिटेल प्राप्त हुने जनाइएको छ। यसले राति वा कम उज्यालोमा फोटो खिच्न रुचाउने प्रयोगकर्तालाई थप लाभ दिने दाबी गरिएको छ। यी स्मार्टफोन आधुनिक र आकर्षक बनाइएको कम्पनीले जनाएको छ। स्लिम बेजेल र स्टाइलिस बनावटले यी फोनलाई प्रिमियम अनुभव दिनेछ। ग्यालेक्सी ए५७ फाइभजी विशेषगरी ६.९ मिलिमिटर पातलो र हल्का डिजाइनमा उपलब्ध हुनेछ।

दुवै मोडलमा ५००० एमएएच ब्याट्री भएको र यसले सामान्य प्रयोगमा दुई दिनसम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ। त्यस्तै सुपर एमोलेड डिस्प्ले र भिजन बूस्टर सुविधाले उत्कृष्ट दृश्य अनुभव दिने बताइएको छ। यी स्मार्टफोनमा आईपी ६८ वाटर र डस्ट रेसिस्टेन्स सुविधा उपलब्ध भएको र यसले पानी र धुलोबाट अतिरिक्त सुरक्षा प्रदान गर्ने दाबी कम्पनीले गरेको छ। साथै कम्पनीले ६ वर्षसम्मको सुरक्षा अपडेट र ओएस अपग्रेड उपलब्ध गराउने जनाएको छ।

सुरक्षाका लागि नक्स भल्ट, सेक्युरिटी ड्यासबोर्ड, प्राइभेट शेयरिङ र थेफ्ट प्रोटेक्सन जस्ता सुविधा पनि समावेश गरिएको छ। यसले व्यक्तिगत डेटा सुरक्षित राख्न सहयोग गर्ने सामसङले जानकारी दिएको छ। कम्पनीले प्रि–अर्डरसँगै विशेष अफरहरू पनि सार्वजनिक गरेको छ। ग्यालेक्सी ए५७ फाइभजीको १२ जीबी भेरियन्ट खरिद गर्दा ४ हजार रुपैयाँ बराबरको मेमोरी अपग्रेड सुविधा उपलब्ध हुनेछ। त्यस्तै ग्यालेक्सी ए३७ फाइभजी मा २ हजार ५०० रुपैयाँ बराबरको मेमोरी अपग्रेड अफर दिइएको छ।

मूल्यका हिसाबले ग्यालेक्सी ए५७ फाइभजीको १२ जीबीर२५६ जीबी भेरियन्टको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ जीबीर२५६ जीबी भेरियन्टको मूल्य ८४ हजार ९९९ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी ग्यालेक्सी ए३७ फाइभजीको १२ जीबीर२५६ जीबी भेरियन्ट ७९ हजार ९९९ रुपैयाँ, ८ जीबीर२५६ जीबी भेरियन्ट ७२ हजार ९९९ रुपैयाँ र ८ जीबीर१२८ जीबी भेरियन्ट ६४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ। सामसङले नेपालमा २४ महिनासम्मको ईएमआई सुविधा पनि थप गरेको छ। कम्पनीका अनुसार १ हजार ७६४ रुपैयाँ प्रतिमहिनादेखि किस्ताबन्दी सेवा शुरु हुनेछ। यो सुविधा प्रयोग गर्न प्रक्रिया सहज रहेको र नागरिकता मात्रै भए पुग्ने कम्पनीले जनाएको छ।

प्रकाशित : 5 April, 2026 1:10 pm