चेक बाउन्सकै आधारमा कालोसूचीमा राख्ने व्यवस्था पुनरावलोकन हुँदै छ : गभर्नर पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

चेक बाउन्सकै आधारमा कालोसूचीमा राख्ने व्यवस्था पुनरावलोकन हुँदै छ : गभर्नर पौडेल



वीरगञ्ज । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय कारोबारमा कालोसूचीमा राख्ने प्रावधानलाई पुनरावलोकन गर्ने विषयमा अध्ययन भइरहेको बताएका छन्। वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चेक बाउन्स भएलगत्तै व्यक्तिलाई कालोसूचीमा राख्ने व्यवस्थाबारे राष्ट्र बैंकले गम्भीरतापूर्वक समीक्षा गरिरहेको जानकारी दिए।

उनका अनुसार अहिले चेक बाउन्स तथा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणका कारण धेरै मानिस कालोसूचीमा पर्ने अवस्था देखिएकाले कसलाई कालोसूचीमा राख्ने र कसलाई नराख्ने भन्ने विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको छ। उनले कालोसूचीमा पर्नेहरूको सूची सकेसम्म छोटो बनाउने दिशामा पनि काम भइरहेको बताए।

गभर्नर पौडेलले अत्यधिक कडाइ वा दण्डमात्रै लगाएर व्यवसाय र मुलुकको अर्थतन्त्र सञ्चालन हुन नसक्ने उल्लेख गरे। उनका अनुसार व्यवसाय सञ्चालनका क्रममा विभिन्न अनुभव, असफलता र चुनौती पार गरेपछि मात्रै व्यवसाय व्यवस्थित रूपमा अघि बढ्ने भएकाले त्यसलाई व्यवस्थापनतर्फ ध्यान दिन आवश्यक छ।
उनले व्यवसायीलाई केवल आलोचना गरेर मात्रै मुलुकको विकास सम्भव नहुने भन्दै व्यवसाय प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए। व्यवसाय गर्न खोज्ने व्यक्तिले एक पटक गल्ती गरेकै आधारमा अनावश्यक दुःख दिन नहुने उनको भनाइ थियो।

अर्को प्रसङ्गमा उनले डिजिटल प्रविधिमा आधारित सूचना प्रविधि (आईटी) उद्योगलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले अघि बढाइरहेको बताए। भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले आईटी उद्योगलाई प्राथमिकतामा राखिएको उनले उल्लेख गरे। साथै बैंक तथा वित्तीय संस्थालाई पनि डिजिटलाइजेसनतर्फ अघि बढ्न आग्रह गरिएको जानकारी दिए।

गभर्नर पौडेलले विगतमा वीरगञ्जमा फोटो स्टुडियो, गाडीका वर्कसप तथा ग्यारेज केन्द्रहरू प्रशस्त भए पनि अहिले ती व्यवसाय क्रमशः घट्दै गएको बताए। उनका अनुसार अहिले धेरै व्यवसाय डिजिटल प्लेटफर्मतर्फ सर्दै गइरहेकाले उद्यमी र व्यवसायीले समयअनुकूल आफ्नो व्यवसायलाई परिवर्तन गर्दै डिजिटल रणनीति अपनाउनुपर्ने आवश्यकता बढेको छ।

साथै उनले नेपाली आईटी कम्पनीहरूलाई विदेशमा लगानी गर्न सहज वातावरण बनाउनेतर्फ पनि पहल भइरहेको दाबी गरे।

प्रकाशित : 12 March, 2026 7:14 pm