काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीको बीमा व्यवसाय र कुल आम्दानीमा वृद्धि देखिए पनि दावी भुक्तानी र खर्च बढेपछि नाफा घटेको छ ।
कम्पनीको चुक्ता पुँजी रु. २ अर्ब ५० करोड रहेको छ । जगेडा कोषमा रु. ३० करोड ८४ लाख, महाबिपत्ति कोषमा रु. १९ करोड २१ लाख र बीमा कोषमा रु. १ अर्ब ८२ करोड ८ लाख रकम सञ्चित छ ।
वित्तीय समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २४.५० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले ६ महिनामा रु. १ अर्ब ३१ करोड बराबरको बीमा व्यवसाय गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा भएको रु. ८२ करोड ८८ लाख भन्दा बढी हो ।
त्यस्तै, बीमा दावी भुक्तानी ६३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले रु. ९८ करोड ४५ लाख दावी भुक्तानी गरेको छ ।
कम्पनीको कुल आम्दानी २४.८१ प्रतिशतले वृद्धि हुँदै रु. १ अर्ब १० करोडबाट रु. १ अर्ब ३८ करोड पुगेको छ । कुल खर्च रु. १ अर्ब ३५ करोड रहेको छ ।
तर, नाफा भने ९०.१५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले रु. १५ करोड ९८ लाख खुद नाफा कमाएकोमा चालु वर्षमा रु. १ करोड ५७ लाख मात्र नाफा भएको छ । कम्पनीकोइपिएस रु. १.२६ रहेको छ ।






Comment