कर्मचारीमाथि आक्रमण रोक्न र वित्तीय प्रणालीको स्थिरता सुनिश्चित गर्न राष्ट्र बैंकको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कर्मचारीमाथि आक्रमण रोक्न र वित्तीय प्रणालीको स्थिरता सुनिश्चित गर्न राष्ट्र बैंकको आग्रह



काठमाडौं । घटना भएको एक सातापछि ज्योति विकास बैंकका कर्मचारीमाथि कर्जा उठाउन जाँदा भएको दुव्र्यवहार र आक्रमणको विषयमा नेपाल राष्ट्र बैंकले मुख खोलेको छ । केन्द्रीय बैंकले एक विज्ञप्ति प्रकाशित गर्दै ज्योति विकास बैंकको नाम नलिई सप्तरी घटना र सोही प्रकृतिका अन्य घटनाहरुलाई समेत एकसाथ सम्बोधन गरेको हो ।

केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीलाई लक्षित गर्दै भएका विभिन्न गैरव्यावसायिक तथा उच्छृङ्खल घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्र बैंकले यस्ता गतिविधिले समग्र वित्तीय प्रणालीमै असर पार्ने भन्दै सबै सरोकारवालालाई जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल सरकार, केन्द्रीय बैंक तथा बैंक–वित्तीय संस्थाको संयुक्त प्रयासबाट देशभरका सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भइसकेको छ । यसले सर्वसाधारणलाई स्थानीयस्तरमै निक्षेप राख्न, कर्जा लिन, विप्रेषण, सामाजिक सुरक्षा भत्ता लगायतका वित्तीय सेवा सहज रूपमा प्राप्त हुने वातावरण बनेको छ ।

निर्देशनअनुसार कर्जा प्रवाह गर्नु, कर्जासम्बन्धी परियोजनाको अनुगमन गर्नु तथा कर्जा असुलउपर गर्नु बैंकहरूको प्रमुख दायित्व भएको स्पष्ट गरिएको छ । सर्वसाधारणबाट संकलित निक्षेपकै आधारमा कर्जा प्रवाह गरिने भएकाले कर्जा नियमित रूपमा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने अवस्था आउन सक्ने र यसले तरलतामा गम्भीर असर पर्ने राष्ट्र बैंकले औंल्याएको छ ।

यद्यपि, ऋणी कुनै प्रतिकूल परिस्थितिमा परेमा कर्जा भुक्तानीमा सहजता ल्याउन राष्ट्र बैंकले समय–समयमा कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणजस्ता व्यवस्था गर्दै आएको पनि उल्लेख गरिएको छ ।

बैंकिङ कारोबारसम्बन्धी कुनै गुनासो भएमा सम्बन्धित बैंक तथा नेपाल राष्ट्र बैंकमै गुनासो सुनुवाइको व्यवस्था रहेको जनाउँदै ग्राहकले आफूलाई मर्का परेको ठानेमा कानुनी र संस्थागत प्रक्रियामार्फत समाधान खोज्न सकिने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीविरुद्ध हुने गैरजिम्मेवार, अव्यावसायिक र उच्छृङ्खल गतिविधि नियन्त्रण नभए वित्तीय साधन परिचालनमै अवरोध सिर्जना हुने र सेवाप्रवाह प्रभावित हुने चेतावनी दिएको छ । यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ ।

साथै, वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको मनोबल उच्च राखी निर्भीक रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न राष्ट्र बैंकले सबैलाई सहयोग र सहकार्य गर्न आग्रह गरेको छ ।

प्रकाशित : 16 December, 2025 5:06 pm