काठमाडौं । देशको आर्थिक क्षेत्रमा धेरै सूचकांकहरू सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ । जसले उपभोक्ता महँगी नियन्त्रणको संकेत गरेको छ।
नेपालको कुल विदेशी विनिमय सञ्चिति रु. २९७९ अर्ब ८१ करोड पुगेको छ। अमेरिकी डलरमा यो २१ अर्ब २१ करोड बराबर छ, जसले करिब १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता जनाउँछ।
चालु खातामा रु. २३७ अर्ब ५९ करोड र शोधनान्तरमा रु. २६४ अर्ब ३ करोड बचत देखिएको छ। विप्रेषण आप्रवाह यो अवधिमा अत्यन्तै उच्च देखिएको छ। नेपाली रुपैयाँमा ३५.४ प्रतिशत र अमेरिकी डलरमा २९।२ प्रतिशत वृद्धि हुँदै यो रु. २०१ अर्ब २२ करोड पुगेको छ।
वाणिज्य कारोबारमा पनि सुधार देखिएको छ। निर्यात ८९.६ प्रतिशतले र आयात १९.८ प्रतिशतले बढेको छन्। राजस्व–व्यय पक्षमा, नेपाल सरकारको कुल खर्च रु. ३६४ अर्ब ५९ करोड, जबकि राजस्व परिचालन रु. २४९ अर्ब ५ करोड रहेको छ।
मुद्रा आपूर्तिका सूचकांकहरू पनि विस्तारोन्मुख छन्। विस्तृत मुद्राप्रदाय ३.२ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यसको वृद्धि १२.२ प्रतिशत पुगेको छ। बैंक तथा वित्तीय संस्थाका निक्षेप ३.० प्रतिशत र निजी क्षेत्रमा कर्जा १.५ प्रतिशतले बढेका छन्। वार्षिक विन्दुगत आधारमा यी सूचकाङ्कहरूको वृद्धि क्रमशः १३.० प्रतिशत र ७.३ प्रतिशत रहेको छ।
बैंकिङ क्षेत्रका ब्याजदरहरूमा भने क्रमशः स्थिरता देखिएको छ। अन्तरबैंक कारोबारको औसत ब्याजदर २.५८ प्रतिशत, ९१–दिने ट्रेजरी बिलको १.९१ प्रतिशत, वाणिज्य बैंकका निक्षेपको औसत ब्याजदर ३.८५ प्रतिशत, र कर्जाको औसत ब्याजदर ७.५० प्रतिशत रहेको छ।





Comment