लगानी ठप्प, रियल स्टेट सुस्त, बैंकिङ क्षेत्रमा संकट: गभर्नरले खोले वास्तविक स्थिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लगानी ठप्प, रियल स्टेट सुस्त, बैंकिङ क्षेत्रमा संकट: गभर्नरले खोले वास्तविक स्थिति



काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडलले बैंक तथा वित्तीय संस्थाका प्रमुख र अध्यक्षहरूलाई अर्थतन्त्र सुदृढीकरण, कर्जा प्रवाहको सुधार, लगानीमैत्री वातावरण तथा डिजिटल रूपान्तरणलाई प्रमुख प्राथमिकता बनाउन आग्रह गरेका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को छैटौं साधारण सभामा उनले बैंकिङ क्षेत्रका समस्या, वर्तमान कमजोरी र आगामी आवश्यकताबारे स्पष्ट धारणा प्रस्तुत गरे।

उनका अनुसार अहिले बैंकिङ प्रणालीलाई सबैभन्दा धेरै दबाबमा पारेको मुद्दा भनेको बढ्दो खराब कर्जा र गैर–बैंकिङ सम्पत्तिको बोझ हो। उनले कर्जा विस्तारका लागि नीति सहज बनाइएका भए पनि कर्जाको वास्तविक उपयोग नहुँदा अपेक्षित परिणाम नआएको बताए। विशेष गरी कृषि कर्जाको नाममा दिइएको रकम कृषिमा नलागेर अन्य उद्देश्य, विशेषतः विदेश जाने खर्चतर्फ मोडिएको हुनसक्ने औंल्याउँदै उनले बैंकहरूले कर्जाको प्रयोगमा कडाइ गर्नुपर्ने उल्लेख गरे।

गभर्नरले कर्जा स्वीकृतिसम्बन्धी शाखा–स्तरको कार्यशैली, कर्जा प्रक्रिया, शीर्षक व्यवस्थापन तथा जोखिम मूल्यांकनका विधिबारे पुनरावलोकन अनिवार्य रहेको बताए। राष्ट्र बैंक अहिले नै कर्जा अभ्यास र जोखिम व्यवस्थापनको अवस्थामाथि विस्तृत अध्ययन गरिरहेको उनले जानकारी गराए। “खराब कर्जा बढ्नुमा विभिन्न कारकले भूमिका खेलेका छन्। जोखिम व्यवस्थापनको गुणस्तर कत्तिको प्रभावकारी छ भन्नेबारे हामी गहिरो मूल्यांकन गरिरहेका छौं,” उनले भने।

चेक बाउन्ससम्बन्धी मुद्दा पनि यथेष्ट गम्भीर भएको उल्लेख गर्दै उनले यो क्षेत्रमा समेत परिवर्तन आवश्यक रहेको बताए। राष्ट्र बैंक यसबारे केही महिनादेखि विशेष निगरानीमा रहेको पनि उनले जानकारी दिए।

शाखा विस्तारसम्बन्धी प्रचलित अभ्यास सुधारको आवश्यकतामा जोड दिँदै गभर्नरले विगतमा लागू प्रावधान र अहिलेको व्यवहारबीच अन्तर देखिएको बताए। बैंक तथा वित्तीय संस्थाले शाखा सञ्चालन गर्दा नाफा–हानि र स्थानीय वातावरण दुवैलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने उनले बताए। यी विषय मौद्रिक नीतिमा समेत समेटिएको उनको भनाइ थियो।

उनका अनुसार अहिले धेरै क्षेत्रहरूमा लगानीको अवसर सीमित बन्दै गएको छ, जसले बैंकिङ क्षेत्रलाई थप चुनौतीमा पारेको छ। “पहिले बैंक, बीमा, टेलिकम, एयरलाइन्स, रियलस्टेट, विद्यालय र अस्पताल जस्ता क्षेत्रहरूमा ठूलो लगानी हुन्थ्यो। तर हाल यी क्षेत्र लगभग ठप्पजस्तै छन्। यस्तो अवस्थामा नयाँ लगानी दिशा खोज्नु अत्यावश्यक छ,” उनले उल्लेख गरे।

पौडेलले वित्तीय क्षेत्रमा डिजिटल प्रविधि र एआई–केन्द्रित रूपान्तरण अनिवार्य बन्दै गएको बताए। विश्वभर वित्तीय प्रणाली प्रविधिमै आधारित बन्दै गएको उल्लेख गर्दै उनले बैंकहरूलाई आधुनिक पूर्वाधार, प्रविधि र दक्षतामा लगानी बढाउन सुझाव दिए।

कर्जाको उचित सदुपयोग सुनिश्चित गर्न बैंकहरू सक्रिय हुनुपर्ने दोहोर्याउँदै उनले भने, “बैंकको पैसा वास्तविक व्यवसायमा जानु अत्यावश्यक छ।” लगानीयोग्य क्षेत्र पहिचान, जोखिम मूल्यांकन र आन्तरिक सुधारमा बैंकहरू उत्तिकै अग्रसर हुनुपर्ने बताए। “लगानीका अवसर खोज्नुहोस्, प्रविधिमा अघि बढ्नुहोस्। आवश्यक परे राष्ट्र बैंक सँगै उभिन्छ,” उनले थपे।

अन्त्यमा, गभर्नर पौडेलले भविष्यमा देखिन सक्ने चुनौती सामना गर्न बैंकहरूले नीति–अनुरूप लगानी, आधुनिक अवधारणा, नयाँ विचार र समसामयिक प्रविधिलाई आत्मसात् गर्नुपर्ने र राष्ट्र बैंक शुल्क तथा कर्जा–सम्बन्धी विषयमा सहकार्यका लागि सधैं तयार रहने बताए।

प्रकाशित : 14 November, 2025 12:32 pm