कैलाली । कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ३१औं वर्षमा प्रवेश गरेको छ। सन् १९९५ (२०५२ साल कार्तिक १७ गते) मा २५ जना शेयर सदस्य र करिब साढे ६० हजार रुपैयाँको पुँजीबाट सुरु भएको यो संस्था अहिले प्रदेश पश्चिमका बलियो सहकारीमध्ये एक बनेको छ।
तीन दशकको यात्रामा संस्थाले उल्लेखनीय प्रगति गरेको छ। हाल सहकारीमा ९१ हजारभन्दा बढी सदस्य छन्। संस्थाको शेयर पुँजी ५१ करोड ३५ लाख, जगेडा कोष ३५ करोड ७२ लाख, बचत ४ अर्ब ८१ करोड ६६ लाख र कुल सम्पत्ति करिब ६ अर्ब ९२ करोड पुगेको छ।
संस्थाले सन् १९९७ (२०५४ साल) मा नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबारको अनुमति पाएको थियो। हाल संस्था वित्तीय सेवा मात्र होइन, कृषि प्रवर्द्धनका गतिविधिमा पनि सक्रिय छ। यसले कृषकका लागि निःशुल्क तालिम, घरदैलो परामर्श सेवा र सस्तो दरमा उपभोग्य सामग्री वितरण गर्दै आएको छ।
स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन ‘किसान कोप–मार्ट’ सञ्चालन गरिएको छ। लम्की, बौनिया र सुखडमा रहेका यी मार्टहरू मार्फत सदस्यका उत्पादन बिक्री हुँदै आएका छन्। साथै ‘किसान कोप एग्रो’ अन्तर्गत माटो परीक्षण प्रयोगशाला, मल–बिउ केन्द्र, एकीकृत कृषि फर्म र कोल्ड स्टोरको सेवा पनि दिइँदै आएको छ।
संस्थाले अहिले कैलालीमा २३, कञ्चनपुरमा ७, अछाममा ३, डडेल्धुरामा २, डोटीमा ३, बर्दियामा १ र बैतडीमा १ गरी कुल ४० भन्दा बढी वित्तीय युनिटमार्फत सेवा विस्तार गरेको छ।
महाप्रबन्धक डम्बर बहादुर शाह का अनुसार, सहकारीले सदस्य केन्द्रित योजनाका कारण उल्लेखनीय उपलब्धि हासिल गरेको हो। “हामी सदस्यको हित, सहकारीको सुदृढीकरण र समुदायको आर्थिक उन्नतिका लागि निरन्तर प्रयत्नशील रहनेछौं,” शाहले बताएका छन्।
संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाह ले कृषिमा आश्रित समुदायलाई वित्तीय र गैर–वित्तीय सेवामार्फत सबल बनाउनु सहकारीको प्रमुख लक्ष्य रहेको बताए। उनका अनुसार संस्थाको नारा “समृद्धिका लागि समुदाय संग–संगै” यही दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ।
३१औं स्थापना दिवसको अवसरमा सहकारीले सोमबार बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।





Comment