लुक्लामा आफ्नै हाइड्रोसहित २५ शैय्याको अस्पताल, २० वर्षमा ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लुक्लामा आफ्नै हाइड्रोसहित २५ शैय्याको अस्पताल, २० वर्षमा ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म



हिमालको काखमा अवस्थित पासाङल्हामु निकोल निक्की अस्पताल, लुक्लाले आफ्नो २०औं वार्षिकोत्सव भव्य रूपमा मनाउँदै विगत दुई दशकमा प्राप्त उपलब्धिहरू सार्वजनिक गरेको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का सल्लाहकार एवं अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाका अनुसार, स्थापना भएको २० वर्षमा अस्पतालले तीन लाखभन्दा बढी बिरामीको उपचार र एक हजार पाँच सय शिशुको सुरक्षित जन्म गराएको छ।

सगरमाथा आरोहणको सम्झनामा स्थापना गरिएको यस सामुदायिक अस्पतालले हिमाली क्षेत्रका स्थानीयबासीदेखि स्वदेशी र विदेशी पर्यटकसम्मका लागि जीवनरक्षक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले हिमाली समुदायका लागि अस्पताल निर्माण गर्ने सपना देखेकी थिइन्। तर सगरमाथा आरोहणकै क्रममा उनको निधन भएपछि त्यो सपना अपूरो रह्यो। त्यही बेला स्विट्जरल्यान्डकी पहिलो महिला ट्रेकिङ गाइड निकोल निक्की हिमालय आरोहणको क्रममा दुर्घटनामा पर्दा लुक्लामा उनको भेट पासाङल्हामुका भाई आङ गेलु शेर्पासँग भयो। पछि निक्कीले पासाङल्हामुको अपूरो सपना पूरा गर्ने प्रतिबद्धता जनाउँदै करिब २५ वर्षअघि लुक्लामा अस्पताल निर्माणको पहल गरेकी थिइन्। फलस्वरूप दुवै महान महिलाको नाममा पासाङल्हामु निकोल निक्की अस्पताल स्थापना भयो, जसले अहिले २० वर्ष पूरा गरेको छ।

फोनिजका सल्लाहकार तथा निर्देशक पासाङकाजी शेर्पाका अनुसार, अस्पतालले मातृस्वास्थ्य, बालस्वास्थ्य, आपत्कालीन उपचारदेखि हड्डी र आँखासम्बन्धी स्वास्थ्य शिविरसम्म निरन्तर सेवा प्रदान गर्दै आएको छ। उनका अनुसार हिमाल आरोहण र ट्रेकिङका क्रममा घाइते हुने पर्यटकहरूलाई तत्काल रेस्क्यु गरी उपचार गर्ने व्यवस्था गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि स्विस राजदूत डानिएला भेरोनिक मोलीले उक्त अस्पताललाई स्विस–नेपाली मित्रताको प्रतीक भन्दै प्रशंसा गरिन्। उनले भनिन्, “हिमालको मुटुमा अवस्थित यो अस्पतालले दुई दशकदेखि निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, जुन स्विट्जरल्यान्ड र नेपालको मैत्री सम्बन्धको उज्यालो उदाहरण हो।”

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले भने, “यो अस्पतालले प्रसूति सेवा, गर्भाशय उपचार, निःशुल्क औषधि वितरण र हिमाली स्वास्थ्य सचेतनामा अमूल्य योगदान पुर्‍याएको छ।”

स्विजरल्याण्डबाट आएकी संस्थापक निकोल निक्कीले २० वर्ष कसरी बित्यो पत्तै नपाएको बताउँदै, ‘जन्म चिल्ड्रेन एजुकेसन प्रोजेक्ट’ मार्फत अस्पतालमा जन्मिएका बालबालिकालाई कक्षा १० सम्म वार्षिक २२० स्विस फ्राङ्क छात्रवृत्ति उपलब्ध गराइँदै आएको जानकारी दिइन्। उनका अनुसार यस वर्ष मात्रै २६१ बालबालिकाले उक्त छात्रवृत्ति पाएका छन्।

२५ शय्या क्षमताको यो अस्पतालमा दुई चिकित्सकसहित २५ जना कर्मचारी कार्यरत छन्। अस्पतालले आफ्नो २१ किलोवाटको हाइड्रोपावर र ९ किलोवाटको सोलार प्रणालीबाट विद्युत् उत्पादन गरी स्वावलम्बी रूपमा सञ्चालन गरिरहेको छ।

कार्यक्रममा पासाङल्हामु फाउन्डेशनकी अध्यक्ष तथा पूर्वराजदूत दावाफुटी शेर्पा, पासाङल्हामु शेर्पाका दाजु क्याप्टेन आङ गेलु शेर्पा, स्विसका पूर्वराजदूतसहित तीन दर्जनभन्दा बढी स्विस नागरिक उपस्थित थिए। स्थानीय महिलाहरूको सांस्कृतिक नृत्य र हिमाली परिकारहरूले उत्सवलाई झन् रौनकपूर्ण बनाएका थिए।

आज पासाङल्हामु निकोल निक्की अस्पताल केवल सोलुखुम्बुको गौरव मात्र होइन, सारा देशका लागि पनि एक आदर्श सामुदायिक अस्पतालका रूपमा स्थापित भइसकेको छ।

प्रकाशित : 28 October, 2025 5:30 pm