सीईओ नियुक्तिका लागि साना किसान लघुवित्तले माग्यो आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सीईओ नियुक्तिका लागि साना किसान लघुवित्तले माग्यो आवेदन



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले खुला प्रतिस्पर्धामार्फत प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ।

संस्थाले सीईओ पदका लागि इच्छुक उम्मेदवारलाई कात्तिक १९ गतेभित्र दरखास्त दिन आग्रह गरेको छ। आवेदन दिन चाहने उम्मेदवारले चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्त, मौद्रिक, अर्थशास्त्र, वाणिज्य, लेखाशास्त्र, तथ्याङ्क, व्यापार प्रशासन, जनप्रशासन वा कानुनमध्ये कुनै एक विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

त्यस्तै, बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, विश्वविद्यालय, अन्तर्राष्ट्रिय संस्था वा संगठित संस्थामा अधिकृत स्तर वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १० वर्ष काम गरेको अनुभव आवश्यक छ। साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत दफा २९ को उपदफा (५ घ) अनुसार अयोग्य नभएको हुनुपर्ने शर्त पनि लागू हुनेछ।

यसअघि संस्थाका सीईओ रहेका डा. शिवराम प्रसाद कोइरालाको कार्यकाल भदौ १३ गते सकिएको थियो। हाल नयाँ नियुक्ति नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापालाई कायममुकायम सीईओको जिम्मेवारी दिइएको कम्पनी सचिव अनिल कृष्ण जोशीले जानकारी दिएका छन्।

प्रकाशित : 16 October, 2025 3:20 pm