मुक्तिनाथ विकास बैंक बाणिज्य बैंकमा रूपान्तरणको तयारीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंक बाणिज्य बैंकमा रूपान्तरणको तयारीमा



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले बाणिज्य बैंकमा रूपान्तरण हुने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। बैंकले आगामी कात्तिक १५ गते हुने वार्षिक साधारणसभा (एजीएम) मा पूँजी वृद्धि र रूपान्तरण प्रस्ताव लैजाने जनाएको छ।

बैंकका अनुसार साधारणसभाबाट पूँजी वृद्धि प्रस्ताव पारित भएपछि मात्र बाणिज्य बैंक बन्ने औपचारिक प्रक्रिया अघि बढाइनेछ। यस कदमलाई बैंकले आफ्नो सेवा दायरा विस्तार, ग्राहक पहुँच वृद्धि र प्रतिस्पर्धात्मक क्षमताको सुदृढीकरण का रूपमा लिएको छ।

हाल मुक्तिनाथ विकास बैंकको चुक्तापूँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ। बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट १३.५३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त बोनस वितरणपछि चुक्तापूँजी ८ अर्ब रुपैयाँ पुग्नेछ। साथै, गत वर्ष स्वीकृत १ अर्ब रुपैयाँ बराबरको अविमोच्य अग्राधिकार सेयर समेत जोडिँदा बैंकको कुल चुक्तापूँजी ९ अर्ब रुपैयाँभन्दा माथि पुग्नेछ।

बैंकले पूँजी सुदृढीकरणपछि बाणिज्य बैंकमा रूपान्तरणले ग्राहक सेवामा सुधार, वित्तीय पहुँच विस्तार र डिजिटल बैंकिङ क्षमतामा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेको छ।

नेपालमा पछिल्ला वर्षहरूमा विकास बैंकहरूले पूँजी तथा नियामकीय मापदण्ड पूरा गर्दै बाणिज्य बैंकमा रूपान्तरण गर्ने प्रवृत्ति बढ्दै गएको छ। मुक्तिनाथ विकास बैंक पनि सोही समूहमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ।

प्रकाशित : 11 October, 2025 1:09 pm