काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारले निरन्तर पहल गरिरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन्।
अर्थमन्त्रीले भन्सार प्रणालीलाई पारदर्शी बनाउन सन्दर्भ मूल्य खारेज गरेर अनलाइन डेटाबेस प्रणाली लागू गरिएको बताए। यसले कारोबार मूल्यको पहिचान सजिलो हुने र बजारमा स्वच्छ प्रतिस्पर्धा प्रोत्साहित हुने उनको विश्वास छ।
निजी क्षेत्रका तीन प्रमुख संघ–संस्थाले सरकारको यो कदमको स्वागत गर्दै आफ्ना सदस्य व्यवसायीलाई नयाँ प्रणालीको प्रयोगमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। हालै सार्वजनिक गरिएको यो प्रणालीले हरेक छ महिनामा अपडेट हुने पुरानो पुस्तिकाबारे व्यापारीले गर्दै आएका गुनासो समाधान हुने अपेक्षा गरिएको छ।
भेटमा निजी क्षेत्रका प्रतिनिधिहरूले हालको अस्थिरताले उद्यमशीलता प्रभावित भएको, घुसपैठ तथा आगजनीजस्ता घटनाले निजी क्षेत्र निरुत्साहित भएको गुनासो राखे। उनीहरूले यस्ता गतिविधिमा संलग्नमाथि छिट्टै कारवाही गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।
संवादका क्रममा निजी क्षेत्र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिवद्धता दोहोर्याउँदै, सरकारसँग व्यवसायीलाई सुरक्षित र सहज वातावरण बनाउन आग्रह गरेको छ।
त्यसैगरी, उनीहरूले चुनावलाई प्राथमिकता दिनु आवश्यक भए पनि सुधारको आधार खडा गर्न बहुपक्षीय वित्त सम्मेलन आयोजना गरी लगानीकर्तामाझ सकारात्मक सन्देश दिनुपर्ने सुझाव दिएका छन्। आगामी निर्वाचनले लोकतान्त्रिक प्रणाली र खुला बजारलाई अझै सबल बनाउने विश्वास व्यक्त गर्दै, समयमै निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता निजी क्षेत्रले जाहेर गरेको छ।





Comment