व्यवसायीलाई सतर्कता अपनाउन आग्रह, विपद् व्यवस्थापनमा योगदान दिन महासंघको आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

व्यवसायीलाई सतर्कता अपनाउन आग्रह, विपद् व्यवस्थापनमा योगदान दिन महासंघको आह्वान



पछिल्ला दुई दिनदेखि देशभर भइरहेको अविरल वर्षाले सामान्य जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिनसम्म वर्षा जारी रहने सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरिएको छ।

वर्षाका कारण देशका विभिन्न स्थानहरूमा सवारी आवागमन अवरुद्ध भएको छ भने प्रमुख राजमार्गहरूमा पहिरोले समस्या निम्त्याएको छ। यसले वस्तु तथा सेवाको आपूर्ति प्रणालीमा गम्भीर असर पारेको छ। दुर्गम तथा पहाडी भेगहरूमा अत्यावश्यक सामग्री पुर्‍याउन कठिनाइ भएको रिपोर्टहरू आएका छन्।

यस्तो स्थितिमा, उद्योग वाणिज्य महासंघले एक विज्ञप्ति जारी गर्दै आफ्ना सदस्यहरू तथा सम्पूर्ण उद्यमी व्यवसायीहरूलाई उच्च सतर्कताका साथ व्यवसाय सञ्चालन गर्न अपिल गरेको छ। महासंघले विपद्को यो संवेदनशील घडीमा अनधिकृत रूपमा भण्डारण नगर्न, बजारमा कृत्रिम अभाव सिर्जना नगर्न र उपभोक्तालाई निरन्तर सेवा दिन आग्रह गरेको छ।

महासंघको विज्ञप्तिमा भनिएको छ, “सामानको आपूर्तिमा कठिनाइ भए पनि यथासम्भव निरन्तर आपूर्ति सुनिश्चित गर्न, बजारमा अभाव हुन नदिन र आपसी सहयोगमार्फत संकट व्यवस्थापन गर्न सबै व्यवसायीहरू एकजुट हुन जरुरी छ।”

यस्तै, महासंघले उद्धार, राहत तथा जोखिम न्यूनीकरणमा सक्दो योगदान दिन पनि व्यवसायी समुदायलाई आग्रह गरेको छ।

यसबीच, गृह मन्त्रालयले पनि अत्यधिक वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेकोले तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन अनुरोध गरेको छ। सम्बन्धित निकायहरूले पहिरो, बाढी र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य अघि बढाइरहेका छन्।

प्रकाशित : 4 October, 2025 7:38 pm