अर्थमन्त्रीको प्रतिवद्धता, हिल्टन पुनः सञ्चालनमा ल्याउन सरकारी समन्वय हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थमन्त्रीको प्रतिवद्धता, हिल्टन पुनः सञ्चालनमा ल्याउन सरकारी समन्वय हुने



काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको तोडफोड, चोरी र आगजनीका कारण हिल्टन होटेलमा अर्बौँ रुपैयाँ बराबरको क्षति पुगेको छ। हिल्टन होटेललाई लक्षित गर्दै गरिएको तोडफोडले होटलसँगै नेपालको पर्यटन क्षेत्र, औद्योगिक पूर्वाधार र अन्तर्राष्ट्रिय प्रतिष्ठामा समेत गम्भीर असर परेको होटल व्यवस्थापनको दाबी छ।

अर्थमन्त्री रामेश्वर खनालले घटनापछि हिल्टन होटेलको स्थलगत निरीक्षण गर्दै सरकार होटल पुनः सञ्चालनमा ल्याउन आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

होटल सञ्चालन पूर्ण रूपमा अवरुद्ध

सन् २०२४ देखि निरन्तर सञ्चालनमा रहेको यो होटलले राज्यलाई कर, भन्सार र शुल्क नियमित रूपमा बुझाउँदै आएको थियो। तर पछिल्लो हिंसात्मक गतिविधिपछि होटल पूर्ण रूपमा बन्द भएको छ। पुनर्निर्माणका लागि ठूलो मात्रामा संरचनागत र आर्थिक लगानी आवश्यक पर्ने होटल पक्षको भनाइ छ।

सरकारसँग सहयोगको अपिल

होटल व्यवस्थापनले नेपाल सरकारसँग पुनर्निर्माणमा सहयोग गर्न र होटललाई पुनः सञ्चालनमा ल्याउन माग गरेको छ।
मागपत्रमा होटलबारे फैलाइएका भ्रान्ति र अफवाहबारे छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरिएको छ।

व्यवस्थापनले कपोलकल्पित समाचार र गलत जानकारीका कारण देशको पर्यटन क्षेत्र र अन्तर्राष्ट्रिय छवि बिग्रिएको भन्दै यसलाई निन्दनीय र दण्डनीय अपराधका रूपमा लिनुपर्ने जोड दिएको छ।

“दोषीलाई कारबाही नगरेमा यस्ता घटना पुनः दोहोरिन सक्ने भएकाले सूचनाको दुरुपयोग रोक्न तत्काल कडा कदम चाल्नुपर्छ,” होटल व्यवस्थापनले भनेको छ।

कर तथा राजस्वमा सहुलियतको माग

होटलले पुनर्निर्माण खर्च र व्यवसायिक घाटालाई ध्यानमा राखी कर तथा राजस्वमा सहुलियत दिन, साथै बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको ब्याज र दायित्वमा अस्थायी मिनाहा गर्न माग गरेको छ।

यस्ता कदम मात्र पर्याप्त नहुने भन्दै भविष्यमा यस्ता आन्दोलन वा हिंसात्मक गतिविधिबाट उद्योग-व्यवसायलाई जोगाउन छुट्टै सुरक्षा व्यवस्था सम्बन्धी नियम बनाउन सरकारलाई आग्रह गरिएको छ।

बीमा भुक्तानी र पुनर्निर्माण

बीमा रकमको छिटो र सहज भुक्तानी प्रक्रिया मिलाउन सरकारले पहल गर्नुपर्ने होटल व्यवस्थापनको माग छ।
पुनर्निर्माणको प्रारम्भिक कार्यका रूपमा फोहोर व्यवस्थापन र सरसफाइमा महानगरपालिकाले सहयोग गर्नुपर्ने पनि उल्लेख गरिएको छ।

लगानीकर्तामा मनोबल गिरावट

होटल व्यवस्थापनले भनेको छ, “यस्ता घटनाले लगानीकर्ताको मनोबल कमजोर बनाउँछ र भविष्यमा थप लगानी गर्न हतोत्साहित गर्छ।”त्यसैले सरकारले हाल गर्ने निर्णय र कदमहरूले लगानीकर्ताको मनोबल उकास्ने खालका हुनुपर्ने माग गरिएको छ।

शङ्कर ग्रुपका अन्य उद्योग प्रभावित

हिल्टन होटलसँगै शङ्कर ग्रुप अन्तर्गतका जगदम्बा स्टील, जगदम्बा सिन्थेटिक लगायतका उद्योग सहज सञ्चालनमा ल्याउन पनि ग्रुप निरन्तर प्रयासरत रहेको बताइएको छ।

तर हालै नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउने निर्णय गरेपछि समूहमा थप आर्थिक भार पर्न सक्ने व्यवस्थापनको भनाइ छ। व्यवस्थापनका अनुसार, यो विषय विवाद पुनरावलोकन समितिमा विचाराधीन रहेकै अवस्थामा अचानक निर्णय हुनुले समूहको आत्मबल थप कमजोर बनाएको छ।

प्रकाशित : 28 September, 2025 3:09 pm