काठमाडौं – तपाईं आफ्नो सासमा ताजगी नहुनु वा नराम्रो गन्ध आउनुका कारणले सामाजिक जमघटमा असहज महसुस गर्नुहुन्छ? यस्ता लक्षणहरू धेरैलाई हुने गर्छ र चिकित्सकहरूका अनुसार, यसको उपचार सम्भव छ।
विशेषज्ञहरूका अनुसार सास गन्हाउने प्रमुख कारणहरूमा ‘पेरिओडोन्टाइटिस’ नामक गिजासम्बन्धी गम्भीर रोग प्रमुख हो। बेलायतको बर्मिङ्घम विश्वविद्यालयका रिस्टोरटिभ डेन्टिस्ट्रीका सह–प्राध्यापक डा. प्रवीण शर्माका अनुसार, “सास गन्हाउने ९० प्रतिशत समस्या मुखभित्रकै संक्रमण र ब्याक्टेरियाका कारण हुन्छ।”
उहाँका अनुसार, धेरै मानिसहरू गिजा र दाँतको उचित सफाइ नगर्दा प्लाक जम्मा हुन्छ र त्यहीँबाट गन्ध आउने समस्या सुरु हुन्छ। यदि समयमै रोकथाम नगरिएमा गिजा सुन्निने, रगत बग्ने, दाँत खुकुलो हुने र झर्ने अवस्थासम्म पुग्न सक्छ।
सास ताजा राख्न यस्ता छन् ७ सुझावहरू:
१. समस्या चिन्नुहोस्:
गिजाबाट रगत बग्नु, रातोपन देखिनु वा गन्ध आउनु गम्भीर संकेत हुन्। यस्तो अवस्था ‘जिन्जिभाइटिस’ को सुरुवाती लक्षण हुन सक्छ, जसलाई समयमै रोक्न सकिन्छ।
२. ध्यान दिएर ब्रश गर्नुहोस्:
ब्रश गर्दा ऐनाको अगाडि उभिएर बायाँ–दायाँ दाँत समान रूपमा सफा गर्नु आवश्यक छ।
३. सही तरिकाले ब्रश गर्नुहोस्:
इन्टर्डेन्टल ब्रश प्रयोग गरेर दाँतको बीचको फोहोर हटाउनुहोस्। टूथब्रशलाई ४५ डिग्रीको कोणमा राखेर गिजाको रेखासम्म सफा गर्नु सल्लाह दिइन्छ।
४. सही समयमा ब्रश गर्नुहोस्:
बिहान खाना खानुअघि र बेलुका सुत्नुअघि ब्रश गर्नु उपयुक्त हो। खाना खाइसकेपछि तुरुन्त ब्रश नगर्न डाक्टरहरूले सुझाव दिएका छन्।
५. सही उपकरण प्रयोग गर्नुहोस्:
मध्यम कडापन भएको ब्रश र फ्लोराइडयुक्त सामान्य टूथपेस्ट प्रयोग गर्न पर्याप्त हुन्छ।
६. गम्भीर लक्षण चिन्नुहोस्:
यदि गिजा तल झरिरहेको छ, दाँतहरू खुकुलो भएका छन् वा लगातार सास गन्हाइरहेको छ भने तुरुन्तै डेन्टिस्टको परामर्श लिनुपर्छ।
७. जिब्रो सफा राख्नुहोस्, पानी प्रशस्त पिउनुहोस्:
जिब्रोमा ब्याक्टेरिया र फोहोर जम्मा हुन्छ, जसले गन्ध ल्याउँछ। स्क्रेपरको प्रयोग गर्नु र पानी पर्याप्त पिउनु सास ताजा राख्न सहयोगी हुन्छ।
डा. शर्माका अनुसार, धेरैजसोले ब्रश गर्दा गिजामा दुखेपछि त्यो भाग सफा गर्न छाड्छन्, जुन गल्ती हो। उहाँ भन्छन्, “रगत बग्नुको मतलब त्यहाँ सफाइ अपर्याप्त छ भन्ने हो, त्यसैले अझ ध्यान दिनुपर्ने हुन्छ।”
स्वास्थ्य विशेषज्ञहरूले सुझाव दिएका छन् कि यदि दैनिक जीवनमा सासको गन्धले समस्या ल्याइरहेको छ भने लाज मान्नु हुँदैन, बरु समयमै उपचार गर्नुपर्छ।नेपाली हेल्थबाट साभार





Comment