भक्तपुर — ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा अवस्थित होटल भदगाउँले दक्षिण एशियाली पर्यटन पुरस्कार (South Asian Travel Awards – SATA) २०२५ मा “Leading Boutique Hotel/Resort” श्रेणी अन्तर्गत विजेता बन्ने गौरव हासिल गरेको छ।
श्रीलङ्काको राजधानी कोलम्बोस्थित सिनेमन ग्रान्ड होटलमा गत असोज ३ गते (सेप्टेम्बर २०, २०२५) आयोजित एक भव्य समारोहमा होटल भदगाउँलाई यो सम्मान प्रदान गरिएको हो। समारोहमा दक्षिण एशियाका विभिन्न देशका पर्यटन व्यवसायी, होटल व्यवसायी तथा सरकारी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएको होटल भदगाउँले बुटिक होटल श्रेणीमा उत्कृष्टताको प्रमाण प्रस्तुत गर्दै यो प्रतिष्ठित उपाधि हात पार्न सफल भएको हो।
पुरस्कार ग्रहण गर्दै होटल भदगाउँका प्रबन्ध निर्देशक नहाल राजभण्डारीले यो उपलब्धि सम्पूर्ण टिमको प्रतिबद्धता, अतिथिप्रतिको समर्पण र सेवा गुणस्तरप्रतिको निरन्तर लगावको नतिजा भएको बताउनुभयो। साथै उहाँले होटलसँग आबद्ध अतिथि, साझेदार संस्था र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै, यसले नेपाली पर्यटनको अन्तर्राष्ट्रिय छविमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
SATA: दक्षिण एशियाको प्रतिष्ठित पर्यटन अवार्ड
सन् २०१६ देखि शुरु गरिएको South Asian Travel Awards (SATA) दक्षिण एशियाली मुलुकहरूमा पर्यटन र आतिथ्य सेवा क्षेत्रमा उत्कृष्टता पुर्याउने संस्थालाई सम्मानित गर्ने एक क्षेत्रीय स्तरीय प्रतिष्ठित अवार्ड कार्यक्रम हो। यसले होटल, रिसोर्ट, ट्राभल एजेन्सी, टुर अपरेटरदेखि कन्भेन्सन सेन्टरसम्मका संस्थालाई विभिन्न श्रेणीमा मूल्यांकन गर्दै पुरस्कृत गर्छ।
सांस्कृतिक गौरव र आधुनिक सेवा संयोजन
भक्तपुरको समृद्ध सांस्कृतिक पृष्ठभूमिमा आधारित होटल भदगाउँ एक उच्चस्तरीय बुटिक होटल हो, जसले परम्परागत नेवारी वास्तुकला र आधुनिक सुविधाबीचको सन्तुलनमार्फत विशिष्ट आतिथ्य अनुभव प्रदान गर्दै आएको छ।
होटलले आफ्ना सेवा र संरचनामार्फत अतिथिलाई नेपाली सांस्कृतिक पहिचान महसुस गराउँदै, पर्यटनलाई दिगो र मूल्य–आधारित बनाउने अभियानमा आफूलाई अग्रसर राखेको छ।
दक्षिण एशियाको प्रतिस्पर्धात्मक वातावरणमा होटल भदगाउँको यो सफलताले न केवल संस्थागत रूपमा उपलब्धि दिलाएको छ, तर समग्र नेपाली पर्यटन क्षेत्रलाई नै अन्तर्राष्ट्रिय मञ्चमा उचाइमा पुर्याएको छ। यस्तो सम्मानले नेपालभित्रको पर्यटन क्षमता र गुणस्तरलाई पुनः एक पटक प्रमाणित गरेको व्यवसायीहरूको भनाइ छ।





Comment