काठमाडौं । भाद्र २३ र २४ गते देशका विभिन्न स्थानमा भएको प्रदर्शनबाट निजी क्षेत्रका उद्योग, व्यवसाय र लगानीमा भएको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै निजी क्षेत्रका प्रतिनिधिहरूले आज अर्थमन्त्री रामेश्वर खनालसँग अर्थ मन्त्रालयमा विशेष अन्तरक्रिया गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एशोसियसन, चौधरी ग्रुप, भाटभटेनी ग्रुप लगायतका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा व्यवसायीहरूको उपस्थिति रहेको छलफलमा अर्थमन्त्री खनालले निजी क्षेत्रका समस्या र चासोप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो।
उद्योग व्यवसायीहरूले प्रदर्शनका क्रममा भौतिक संरचना, गाडी, गोदाम र स्टोरमा भएको तोडफोड तथा आगजनीका कारण भएको ठूलो क्षतिको तत्काल मूल्याङ्कन गरी राहत र पुनःस्थापना प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरे। उनीहरूले कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकमको शीघ्र भुक्तानी र लगानीमैत्री वातावरण सुनिश्चित गर्न माग गरे।
निजी क्षेत्रप्रति सरकार, राजनीतिक दल, सञ्चार माध्यम र नागरिक समाजको दृष्टिकोण सकारात्मक र सहयोगी बन्नुपर्नेमा पनि व्यवसायीहरूले जोड दिए।
कार्यक्रममा अर्थसचिव श्री घनश्याम उपाध्यायले दशैं बाहेकका सार्वजनिक विदामा पनि बैंक र भन्सार कार्यालय खुला राखिने तथा पहिरोले अवरुद्ध तातोपानी नाका पुनः सञ्चालन गर्न सरकार क्रियाशील रहेको जानकारी गराए।
अर्थमन्त्री खनालले थापाथली अटो सेक्टर, कोटेश्वरस्थित भाटभटेनी, अन्नपूर्ण र कान्तिपुर मिडिया हाउस, ट्राफिक प्रहरी कार्यालयलगायत क्षतिग्रस्त स्थानहरूको अवलोकन गरेको बताउँदै, सार्वजनिक र निजी दुवै क्षेत्रमा भएको क्षतिप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्नुभयो। उहाँले “Integrated Business Recovery Plan” ल्याइने तथा पुनर्निर्माणका लागि विशेष कोष खडा भइसकेको जानकारी दिनुभयो।
साथै, कर तथा मौद्रिक नीतिबाट सम्भव सहुलियत दिन नेपाल सरकार सकारात्मक रहेको र अबको दिनमा नागरिकहरूले सेवा प्रवाहमार्फत सरकारको उपस्थिति अनुभूत गर्न सक्ने व्यवस्था मिलाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।





Comment