पुनः उठ्दै एनसेल, डिजिटल नेपालमा एनसेलको नयाँ संकल्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पुनः उठ्दै एनसेल, डिजिटल नेपालमा एनसेलको नयाँ संकल्प



काठमाडौं । गत हप्ताको आन्दोलनका क्रममा भएको तोडफोडका घटनामा एनसेलका विभिन्न कार्यालयहरूमा गम्भीर क्षति पुगेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा ठूलो भौतिक क्षति भएको हो।

एनसेलले विज्ञप्ति जारी गर्दै ती घटनाले कार्यालयका संरचनामा मात्र नभई कर्मचारीहरूको सुरक्षा र दूरसञ्चार सेवाको निरन्तरतामा समेत गम्भीर जोखिम उत्पन्न गरेको उल्लेख गरेको छ। यद्यपि, चुनौतीपूर्ण परिस्थितिसँगै कम्पनीले सेवामा कुनै अवरोध नआओस् भनी तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराएको जनाएको छ।

कम्पनीले विगत २० वर्षदेखि नेपालका आम नागरिकलाई दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्न निरन्तर काम गर्दै आएको स्मरण गर्दै, एनसेलले यस अवधिमा रोजगारी सिर्जना, आर्थिक वृद्धिमा सहयोग र ‘डिजिटल नेपाल’ निर्माणमा योगदान पुर्‍याएको दाबी गरेको छ।

यसै क्रममा, एनसेलले हालै बनेको अन्तरिम सरकारलाई बधाई ज्ञापन गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। कम्पनीले देशका युवाहरूको अगुवाइमा भएको आन्दोलनबाट आएको परिवर्तनलाई स्वागत गर्दै यो परिवर्तनले सबै नेपालीका लागि एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने आशा व्यक्त गरेको छ।

एनसेलले आफ्ना ग्राहक, कर्मचारी र समुदायसँग ऐक्यबद्धता जनाउँदै विगतमा पाएको साथ र समर्थनप्रति आभार व्यक्त गरेको छ। साथै, आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेको छ।

कम्पनीले अन्ततः देश र जनताको सेवा निरन्तर रुपमा जारी राख्ने दृढ संकल्प दोहोर्याएको छ।

प्रकाशित : 14 September, 2025 8:57 pm