काठमाडौँ — देशभर जारी राजनीतिक अस्थिरता र सामाजिक मिडिया प्रतिबन्धविरुद्धका प्रदर्शनका क्रममा काठमाडौँस्थित एनसेलको केन्द्रीय कार्यालयमा मंगलबार आन्दोलनकारीहरूले प्रवेश गरी तोडफोड र आगजनी गरेका छन्।
एनसेलले जारी गरेको विज्ञप्तिमा भनेको छ कि यस्तो कठिन परिस्थितिमा पनि आफ्ना उपभोक्ताहरूलाई सहज सम्पर्कमा राख्नका लागि कम्पनीले आगामी दुई दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराउने निर्णय गरेको छ।
कम्पनीले हालैका दुर्भाग्यपूर्ण घटनाक्रमबाट आफूहरू गहिरो मर्माहित भएको जनाउँदै प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेको र शोकसंतप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
एनसेलले विज्ञप्तिमा भनेको छ, “देशका हरेक उपभोक्तालाई संकट र परिवर्तनको समयमा आफ्नो आफन्त र प्रियजनसँग सम्पर्क कायम राख्न सहज पहुँच सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो।”
कम्पनीले दूरसञ्चार पूर्वाधार अत्यावश्यक र सार्वजनिक सेवा भएकाले यसमाथि क्षति पुग्दा समग्र सेवामा अवरोध आउने चेतावनी दिंदै, यस्तो सेवामा क्षति नपुर्याउन सबैसँग आग्रह गरेको छ।
यो घटनाक्रम हालैको राजनीतिक संकट, सामाजिक मिडिया प्रतिबन्ध र त्यसविरुद्ध उत्रिएका देशव्यापी प्रदर्शनकै बीचमा आएको हो। सामाजिक मिडिया प्रतिबन्धविरुद्धको प्रदर्शनमा अहिलेसम्म कम्तीमा १९ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्।





Comment