काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर सार्वजनिक तथा मालवाहन (ढुवानी) यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ। महासंघले भदौ २३ गते ‘जेन जिन’ समूहद्वारा आयोजित शान्तिपूर्ण प्रदर्शनमा भएको सरकारी दमन र जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सेवा बन्दको घोषणा गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण प्रदर्शनमा भएको दमनका कारण १९ जना विद्यार्थीले ज्यान गुमाएका छन्। जनजीवन प्रभावित भएको र देशभर कर्फ्यु लगाइनु परेको अवस्थामा शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन गर्न असम्भव छ।”
महासंघले घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, नेपाल सरकारलाई उनीहरूको उपचारको तत्काल व्यवस्था मिलाउन आग्रह गरिएको छ।
महासंघले आफ्नो मातहतका सबै संघ–संगठन, समिति, कम्पनी तथा प्रालिहरूलाई घाइतेहरूको उपचारमा सक्दो सहयोग गर्न पनि अनुरोध गरेको छ।
यातायात सेवा बन्द भएसँगै देशभर सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ। कर्मचारी, विद्यार्थी, बिरामी तथा किसान वर्ग विशेष प्रभावित भएको जनाइएको छ। ढुवानी सेवा रोकिँदा बजारमा आपूर्ति श्रृंखला अवरुद्ध हुनसक्ने चिन्ता बढेको छ।
यसैबीच, महासंघले शान्तिपूर्ण रुपमा सेवा बन्द गरिएको उल्लेख गर्दै नागरिकलाई असहज नहोस् भन्नेतर्फ विशेष ध्यान दिइने जनाएको छ।
घटनाबारे नेपाल सरकारको तर्फबाट हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।





Comment