काठमाडौं । जेनजी आन्दोलन चर्किएपछि मुलुकभरका बैंक तथा वित्तीय संस्था मंगलबार बन्द रहने भएका छन्। विभिन्न स्थानमा प्रदर्शन तीव्र बनेपछि सुरक्षाको कारण देखाउँदै बैंक शाखा नखोल्ने निर्णय लिइएको हो।
राज्यद्वारा आन्दोलनमा कडाइ गरिएको भन्दै जनआक्रोश बढेको छ। राजधानी काठमाडौंको चक्रपथ क्षेत्रभित्र प्रशासनले निषेधाज्ञा जारी गरेको छ भने अन्य सहरहरूमा समेत कर्फ्यु लागू गरिएको छ।
यही परिस्थितिलाई ध्यानमा राख्दै नेपाल बैंकर्स संघले बैंकहरू मंगलबार नखोल्ने निर्णय गरेको हो। संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार, निषेधाज्ञा लागू भएका क्षेत्रमा बैंक सञ्चालन असम्भव भएको र निषेधाज्ञा नभएका स्थानमा पनि कर्मचारीहरूको आवाजाहीमा समस्या भएकाले शाखा नखोलिने निर्णय गरिएको हो।
‘हामीले नेपाल राष्ट्र बैंकसँग समन्वय गरेरै यस्तो निर्णय गरेका हौं,’ अध्यक्ष कोइरालाले बताए। उनका अनुसार केही स्थानमा प्रदर्शन हिंसात्मक बन्दै गएको, बैंक तथा वित्तीय संस्थाहरूमा तोडफोड र आगजनीको जोखिम बढेको निष्कर्षमा बैंकहरू पुगेका छन्।
स्रोतहरूका अनुसार सोमबारको प्रदर्शनमा सुरक्षाकर्मीको हस्तक्षेपपछि १९ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन्। मंगलबार झनै संवेदनशील हुने अनुमानसहित विभिन्न सहरमा कर्फ्यु लगाइएको छ।





Comment