लालबन्दी (सर्लाही) – एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ स्थित श्री अमर जैन विद्यालयमा विद्यार्थीहरूलाई स्कुल ब्याग र विद्यालयलाई वॉटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।
बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मान्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्न सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो। यस पहलले विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउन तथा विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा लालबन्दी वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेल प्रमुख अतिथि रहनुभएको थियो। उहाँले एनएमबि बैंकको सामाजिक उत्तरदायित्वमूलक कार्यको प्रशंसा गर्दै यसले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
त्यस्तै, एनएमबि बैंकका मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखाका प्रबन्धक अरुण आचार्य विशेष उपस्थित रहनुभएको थियो। उहाँहरूले आगामी दिनहरूमा पनि बैंक सामाजिक र शैक्षिक क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले बैंकको योगदानलाई सराहना गरेका थिए।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।





Comment