काठमाडौं । नाडा अटो शो २०२५ ले यसवर्ष ऐतिहासिक सफलता हासिल गरेको छ। राजधानीमा जारी अटो शोमा केवल चार दिनमै १ लाख ४ हजार ३४७ जनाले अवलोकन गरेका छन्।
यस अटो शोमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल, विभिन्न सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलगायत उच्च पदस्थ व्यक्तिहरूले अवलोकन गरेका छन्।
त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णवहादुर रावत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल, यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारी लगायतका अधिकारीहरू पनि सहभागी भएका छन्।
निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, नेपाल बंैकर्स एशोसिएशनका उपाध्यक्ष सुरेन्द्र रेग्मी, महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सवित्रा भण्डारीलगायतले समेत प्रदर्शनीको अवलोकन गरेका छन्।
अन्तर्राष्ट्रिय क्षेत्रमा भने सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चर्स (SIAM) का उपकार्यकारी निर्देशक अटानु गाँगुली र अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चर्स एशोसिएशनका प्रतिनिधिहरूको टोलीले प्रदर्शनी अवलोकन गरेको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका अनुसार यो शो अब केवल अटो प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–उन्मुख मोबिलिटी समाधानको राष्ट्रिय उत्सवका रूपमा स्थापित हुँदै गएको छ। बाँकी दुई दिनमा थप विशिष्ट व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।





Comment