वन–स्टप सेवा प्रणाली आवश्यक : उपाध्यक्ष रेग्मी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वन–स्टप सेवा प्रणाली आवश्यक : उपाध्यक्ष रेग्मी



काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले नेपालमा एउटै काम सम्पन्न गर्न नागरिकलाई अनावश्यक रूपमा धेरै ठाउँ धाउनुपर्ने बाध्यता रहेको भन्दै यसप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

मंगलबार इकोनोमिक मिडिया एसोसिएसन र नाडाले संयक्त्तरुपमा आयोजित प्यानल डिस्कशनमा बोल्दै रेग्मीले प्रशासनिक प्रक्रियाको जटिलताले समय र श्रमको अपव्यय मात्र भएको बताएका हुन्। उनले प्रयोगकर्ताको दृष्टिकोणलाई प्राथमिकता दिई कामलाई छिटो र सरल बनाउनुपर्ने आवश्यकता औंल्याए।

उनले भने, “सानोतिनो कारणले गर्दा काम ढिला हुने भयो भने यसले कसैलाई फाइदा गर्दैन। एउटै कामका लागि कोही व्यक्तिलाई चार–पाँच ठाउँ धाउनुपर्ने अवस्था हुनु राम्रो होइन। यदि एउटै स्थानबाट काम सम्पन्न हुने व्यवस्था मिलाइयो भने नागरिकले बचाएको समय र ऊर्जा अन्य उत्पादक क्षेत्रमा प्रयोग गर्न सकिन्छ।”

रेग्मीका अनुसार हालको प्रणालीले सेवाग्राहीलाई सहजता दिने सट्टा उल्टै बाध्यतामा पारिरहेको छ। उनले सरकारलाई वन–स्टप सेवा प्रणाली विकास गर्न आग्रह गर्दै यसले मात्र नागरिकलाई दक्ष र छरितो सेवा प्राप्त हुने बताए।

यस्तै, उनले मुलुकमा समस्या एकातिर भए पनि नीतिहरू अर्कोतिर जाने गरेको उल्लेख गरे। “नीति र समस्या बीच कुनै तालमेल छैन। यसलाई सम्बोधन नगरेसम्म सुधार सम्भव हुँदैन। सरोकारवालाले यसमा गम्भीर भएर ध्यान दिनुपर्ने अवस्था आएको छ,” रेग्मीले जोड दिए।

प्यानल डिस्कशनमा सहभागी अन्य विज्ञहरूले पनि नेपालमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनुपर्ने, अनावश्यक कागजी प्रक्रिया कम गर्नुपर्ने र निजी क्षेत्रसँग सहकार्य गरेर काम अघि बढाउनुपर्ने सुझाव दिएका थिए।

प्रकाशित : 20 August, 2025 5:57 pm