ग्लोबल आइएमई बैंकको सवा ६ अर्ब नाफा, निक्षेप र कर्जामा दोहोरो अंकको वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकको सवा ६ अर्ब नाफा, निक्षेप र कर्जामा दोहोरो अंकको वृद्धि



काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ मा सवा ६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले बुधबार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, गत आवमा बैंकको खुद नाफा ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ पुगेको हो। यो अघिल्लो आवको तुलनामा १.०९ प्रतिशत मात्र बढी हो। अघिल्लो आवमा बैंकले ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा भने सानो गिरावट आएको छ। गत आवमा बैंकले १६ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा ०.८५ प्रतिशत कम हो। त्यस्तै, सञ्चालन नाफा ८ अर्ब ७७ करोड ५ लाख ७८ हजार रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.०१ प्रतिशत कम हो।

गत आवमा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ। हाल बैंकको चुक्त पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ छ, जसको आधारमा बैंकले करिब १४.११ प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्था बनाएको छ। बैंकको जगेडा कोषमा २४ अर्ब २१ करोड रुपैयाँ रहेको छ।

वित्तीय सूचकहरूमा, बैंकको प्रति सेयर आम्दानी (EPS) १६.२८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ। यद्यपि, खराब कर्जा (NPL) ४.८७ प्रतिशतमा बढेको देखिन्छ।

बैंकको व्यवसायिक गतिविधिमा भने उल्लेखनीय वृद्धि भएको छ। निक्षेप संकलन १२.९५ प्रतिशतले बढेर ५ खर्ब ५० अर्ब ६२ करोड ८४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा लगानी ११.४६ प्रतिशत वृद्धि भई ४ खर्ब ११ अर्ब ७९ करोड १७ लाख रुपैयाँ पुगेको छ।

प्रकाशित : 13 August, 2025 10:31 am