नेपालमा युरो ६ बाहेकका चारपांग्रे गाडी आयातमा कडाइ, बैंकहरूले एलसी खोल्न नपाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपालमा युरो ६ बाहेकका चारपांग्रे गाडी आयातमा कडाइ, बैंकहरूले एलसी खोल्न नपाउने



नेपाल सरकारले नयाँ सवारी साधन प्रदूषण मापदण्ड २०८२ लागू गर्दै युरो ६ मापदण्ड बाहेकका चारपांग्रे गाडीहरू आयातमा रोक लगाएको छ। यससँगै बैंकहरूले यस्ता गाडीहरूको लागि प्रतितपत्र (एलसी) खोल्न पाउने छैनन्।

वन तथा वातावरण मन्त्रालयले गत असार ९ गतेदेखि दुईपांग्रे सवारीमा युरो ५ र चारपांग्रेमा युरो ६ मापदण्ड अनिवार्य गरेको छ भने नेपाल राष्ट्र बैंकले पनि एलसी खोल्ने प्रक्रियामा नयाँ मापदण्डलाई आधार मानेर कडा नियम ल्याएको हो।

नयाँ एकीकृत परिपत्र अनुसार, निर्माता कम्पनी वा आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी साधन मात्रै आधिकारिक बिक्रेताले नेपालमा आयात गर्न पाउनेछन्। रिकण्डिसन, प्रयोग भइसकेका वा प्रदूषण मापदण्ड २०८२ भित्र नपर्ने सवारी साधनको आयातमा पूर्ण रोक लगाइएको छ।

तर सरकारी निकाय, कूटनीतिक व्यक्तिहरू, अपाङ्गता भएका व्यक्तिहरू, दमकल र एम्बुलेन्सजस्ता विशेष सवारी साधनहरूमा केही अपवादहरू कायम गरिएको छ। साथै, सरकारी अनुदान वा भन्सार छुट प्राप्त गरेर खरिद गरिएका सवारी साधनहरूमा पनि नियम केही लचकता सहित लागू हुने व्यवस्था गरिएको छ।

यसले नेपालमा प्रदूषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने र वातावरणीय मापदण्डलाई कडाइका साथ पालन गराउने अपेक्षा गरिएको छ।

प्रकाशित : 8 August, 2025 6:52 pm