विकास बैंकहरूको नाफा १३.८१ प्रतिशतले वृद्धि, मुक्तिनाथ शीर्ष स्थानमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विकास बैंकहरूको नाफा १३.८१ प्रतिशतले वृद्धि, मुक्तिनाथ शीर्ष स्थानमा



काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनासम्म विकास बैंकहरूको नाफामा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विकास बैंकहरूले यस अवधिमा ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.८१ प्रतिशतले बढी हो।

गत वर्षको यही अवधिमा अर्थात् २०८१ जेठ मसान्तसम्म विकास बैंकहरूको समग्र नाफा ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ थियो। हालसम्मका उपलब्ध विवरणअनुसार १५ मध्ये १२ वटा विकास बैंक नाफामा छन् भने ३ वटाले घाटाको सामना गरिरहेका छन्। नाफामा रहेका बैंकमध्ये ९ वटाको मुनाफा अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ भने ३ वटाको भने घटेको छ।

मुक्तिनाथ शीर्ष, गरिमा दोस्रो

नाफाका आधारमा मुक्तिनाथ विकास बैंक अग्रस्थानमा देखिएको छ। बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाउँदै सबैभन्दा लाभदायक विकास बैंकको पहिचान बनाएको छ।

त्यसपछि दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। त्यसैगरी, अन्य प्रमुख नाफा कमाउने विकास बैंकहरूमा शाइन रेसुङ्खा डेभलपमेन्ट बैंक (७३ करोड ८८ लाख), कामना सेवा विकास बैंक (६६ करोड ९३ लाख), सांग्रिला डेभलपमेन्ट बैंक (५६ करोड २९ लाख), महालक्ष्मी विकास बैंक (५३ करोड ४४ लाख), ज्योति विकास बैंक (४३ करोड ६४ लाख), लुम्बिनी विकास बैंक (२१ करोड ७३ लाख), मितेरी डेभलपमेन्ट बैंक (११ करोड ३५ लाख), सिन्धु विकास बैंक (८ करोड ६ लाख), ग्रीन डेभलपमेन्ट बैंक (२ करोड ७५ लाख), र कर्पोरेट डेभलपमेन्ट बैंक (१ करोड ९५ लाख) रहेका छन्।

घाटामा तीन बैंक

यता, तीनवटा विकास बैंक भने नकारात्मक नतिजामा देखिएका छन्। तीमध्ये सबैभन्दा बढी घाटा व्यहोरेको बैंक एक्सेल डेभलपमेन्ट बैंक हो । जसले ७ करोड १३ लाख रुपैयाँको घाटा बेहोरेको छ। त्यसपछि नारायणी डेभलपमेन्ट बैंकको घाटा ७ करोड ५ लाख रुपैयाँ छ भने कर्पोरेट डेभलपमेन्ट बैंकले २ करोड ६४ लाख रुपैयाँको घाटा देखाएको छ।

मितेरीको उल्लेखनीय प्रदर्शन

गत वर्षको तुलनामा नाफामा सबैभन्दा उच्च वृद्धि देखाउने बैंक मितेरी डेभलपमेन्ट बैंक हो। बैंकले ६७.९० प्रतिशतले आफ्नो मुनाफा बढाउन सफल भएको छ। यति उच्च वृद्धिदर आर्थिक मन्दीको दबाबबीच पनि बैंकले सञ्चालन लागत व्यवस्थापन, कर्जा प्रवाह र लगानी संरचनालाई सन्तुलनमा ल्याउन सफल भएको संकेत दिन्छ।

सबैभन्दा ठूलो गिरावट लुम्बिनी विकास बैंकमा

अर्कोतर्फ, सबैभन्दा बढी नाफा घट्ने बैंक लुम्बिनी विकास बैंक रहेको छ। बैंकको नाफा ४८.३० प्रतिशतले घटेको छ।

प्रकाशित : 11 July, 2025 7:27 pm