काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा महासंघका धेरै सुझावहरू समावेश भएको भन्दै सन्तोष व्यक्त गरेका छन्।
बिहीबार अर्थमन्त्री विष्णु पौडेलद्वारा सार्वजनिक बजेटपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढकालले निजी क्षेत्रलाई केन्द्रमा राखेर बजेट तयार पारिएको बताए।
‘अहिलेको बजेटले निजी क्षेत्रलाई ड्राइभिङ सिटमा राखेको छ,’ उनले भने, ‘यसले अघिल्ला बजेटभन्दा फरक अनुभूति दिने अपेक्षा गरिएको छ।’
महासंघले अर्थ मन्त्रालयलाई पेस गरेका धेरै सुझाव बजेटमा समेटिएको उल्लेख गर्दै उनले अब ती प्रस्तावहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।
‘बजेटको घोषणापछि सुरुवातमा उत्साह देखिन्छ, तर कार्यान्वयनमा कमजोरी देखिने प्रवृत्ति दोहोरिन नदिन गम्भीरता आवश्यक छ,’ अध्यक्ष ढकालले स्पष्ट पारे, ‘महासंघले कार्यान्वयनको प्रगति विश्लेषण गरेर आवश्यक सुझावहरू सार्वजनिक गर्दै जानेछ।’
अध्यक्ष ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगले सरकारलाई दिएका सिफारिसहरू पनि यथाशीघ्र कार्यान्वयनमा लैजानुपर्ने धारणा राखे।
सामाजिक सुरक्षा भत्ता वृद्धिको विषयमा महासंघको तर्फबाट उमेर सीमा ७० वर्ष पुर्याउने सुझाव प्रस्तुत गरिएको जानकारी पनि उनले दिए।
‘७० वर्षमा मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रस्ताव हाम्रो हो,’ उनले भने, ‘यसले सरकारी खर्चको व्यवस्थापनमा सघाउ पुग्नेछ र निजी क्षेत्रलाई पनि लगानी गर्न थप हौसला मिल्ने विश्वास छ।’
अध्यक्ष ढकालले बजेटले सकारात्मक संकेतहरू दिएको भन्दै नीति, कार्यान्वयन र परिणामको सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए।





Comment