नेको इन्स्योरेन्सको साधारणसभा जेठ ९ गते, ७ प्रतिशत बोनस सेयर प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेको इन्स्योरेन्सको साधारणसभा जेठ ९ गते, ७ प्रतिशत बोनस सेयर प्रस्ताव



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २९औं वार्षिक साधारणसभा आउँदो जेठ ९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंमै हुने तय भएको हो।

सभामा आर्थिक वर्ष २०८०/८१ का लागि सिफारिस गरिएको कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदनको प्रस्ताव पेश गरिनेछ। सो लाभांशमध्ये ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ।

साधारणसभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि विचार गर्नेछ। सो प्रक्रिया सहज बनाउने उद्देश्यले सञ्चालक समितिलाई नियामक निकायका निर्देशन कार्यान्वयन गर्ने अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित गरिनेछ।

त्यस्तै, बोनस सेयर वितरणपश्चात जारी तथा चुक्तापुँजी वृद्धि गर्ने अर्को विशेष प्रस्ताव पनि सभाबाट अनुमोदन गरिनेछ।

सभाले अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावहरू पनि पारित गर्नेछ।

कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि बुक क्लोज वैशाख ३० गते गर्ने जनाएको छ। वैशाख २९ गते सार्वजनिक बिदा परेकाले, वैशाख २८ गते (आइतबार) सम्म सेयरधनी सूचीमा नाम भएका लगानीकर्ताहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।

प्रकाशित : 16 May, 2025 11:35 am