अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखियोः सञ्चारमन्त्री गुरुङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखियोः सञ्चारमन्त्री गुरुङ



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आज आयोजित १५औँ वार्षिक साधारण सभामा उनले अस्थिर राजनीतिको प्रतिच्छायाले अर्थतन्त्र ओझेलमा परेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीले समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै राजस्व संकलन र खर्च प्रणालीमा समस्या देखिएकाले सोको समाधानका लागि सरकारको ध्यान केन्द्रित रहेको बताए ।

“राजस्व लक्ष्य अनुसार संकलन हुन सकेको छैन । भन्सारमा आधारित राजस्व प्रणाली रहेकाले मागमा कमी आउँदा संकलन घट्नुका साथै पुँजीगत खर्च पनि कमजोर भएको छ”, उनले भने । खर्च प्रणालीलाई व्यवस्थित र सहज बनाउन सार्वजनिक खरिद ऐन संशोधनका लागि प्रयास भइरहेको सञ्चारमन्त्रीले बताए । दूध र उखु किसानलाई सरकारले यथाशीघ्र भुक्तानी दिने उनले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीकर्ताको मनोबल बढाउन सरकार स्तरमा भएका प्रयासको सह्राना गर्दै निजी क्षेत्रले पनि सरकारसँग साझेदारी गर्ने बताए । उनले उद्योगी–व्यवसायी बैंकको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने स्थिति उत्पन्न हुन नदिन सरकारले बनाएका नीति प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष र सरोकार भएका निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

“सरकारले नीति ल्याएर मात्र हुँदैन । सो प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्दछ । अर्थ मन्त्रालय तथा सरोकार भएका निकायबीच समन्वय आवश्यक छ”, उनले भने । निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी सरकारले रोक्न नहुनेमा उनले जोड दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारका नीतिहरूलाई स्थिरता प्रदान गरी लगानी र व्यवसायका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रले सरकारलाई आवश्यक सहयोग र समन्वय गर्ने उनले बताए ।

प्रकाशित : २९ मंसिर २०८१, शनिबार १५:५८