मंङसिर १२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मंङसिर १२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मंङसिर १२ गतेदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यस अनुसार कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो । यस अनुसार कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन । कम्पनीको हकप्रद शेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), स्टार मल, पुतलीसडक, काठमाडौँ तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको इस्योरेन्सको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २ मंसिर २०८१, आईतवार ११:५४