कामना सेवा विकास बैंकको नाफामा सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंकको नाफामा सुधार



काठमाडौं । कामना सेवा विकास बैंकको नाफामा व्यापाक सुधार देखिएको छ । तीन महिनामै बैंकले साढे १७ करोड बढी खुद नाफा आर्जन गरेको छ ।

बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको असोज मसान्तसम्ममा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ४६.४० प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा पनि बैंकले ११ करोड ९५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५.६७ प्रतिशत वृद्धि भई ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा पनि बैंकको यस्तो आम्दानी ४९ करोड ९ लाख १० हजार रुपैयाँ मात्रै रहेको थियो ।

यता, बैंकको संचालना नाफामा पनि ४२.५६ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा बैंकको यस्तो नाफा १८ करोड ९५ हजार रुपैयाँ मात्रै थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बैंकको यस्तो नाफा २५ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा आएको बढोत्तरीले नै खुद नाफा उल्लेख्य सुधार देखिएको हो । बैंकको वितरणयोग्य नाफा पनि २० करोड ९८ लाख ४४ हजार रुपैयाँ पुगेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १९ रुपैयाँ ९४ पैसा छ । वितरणयोग्य इपिएस भने २३.९१ पैसा देखिएको छ ।

बैंकको खराब कर्जा ३.९६ प्रतिशत देखिन्छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब ६९ कोड ३२ लाख २६ हजार रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन पनि २.८५ प्रतिशत वृद्धि भई ६० अर्ब ७५ करोड ५३ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि ३.१० प्रतिशत वृद्धि भई ४७ अर्ब ४० करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार ०७:५०