बाजुरामा बद्री पाण्डेको बलियो स्थिति, कर्ण थापालाई भीम रावलको डर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बाजुरामा बद्री पाण्डेको बलियो स्थिति, कर्ण थापालाई भीम रावलको डर



काठमाडौं । बाजुरामा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेस सह–महामन्त्री बद्री पाण्डे र एमाले सुदूरपश्चिम सह–इन्चार्ज कर्णबहादुर थापाबीच भिडन्त हुने देखिन्छ । बाजुराको हिमाली गाउँपालिका–४ का पाण्डे र बुढीगंगा नगरपालिका–९ का थापाबीच व्यक्तित्वको पनि टकराब हुने देखिन्छ । दुई नेताबाहेक बाजुरामा राप्रपाबाट जंगकुमार गिरी, जनसमाजवादी पार्टी नेपालबाट रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल उम्मेदवार छन् ।

पाण्डेको घर प्रदेशसभा १ र थापाको घर प्रदेशसभा २ नम्बरमा पर्छ । विद्यार्थी राजनीतिका समकालीन पाण्डे र थापा दुवै एक अर्कोभन्दा आफूलाई सिनियर ठान्छन् । पाण्डेले कांग्रेसको केन्द्रीय सहमहामन्त्रीको पद र आफ्नो सालिनतालाई चुनावी पुँजी ठानेका छन् । चौथो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका थापा बाजुरामा आफ्नो स्वीकार्यता बढ्ता देख्छन् । पाण्डेले २०४३ मा नेविसंघबाट राजनीति थालेका थिए । २०४७ मा वाल्मिकी क्याम्पसमा इकाई सदस्य र २०४९ मा इकाई सचिवमा निर्वाचित भएका थिए । २०५० मा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष चुनिएका उनी २०५२ मा वाल्मिकीमै इकाइको अध्यक्ष भए ।

२०५३ मा वाल्मिकीको स्ववियु र २०५४ मा स्ववियु परिषद्को सभापति बनेका थिए । पाण्डे २०५६ मा नेविसंघको केन्द्रीय सदस्य भए । २०५९ मा नेविसंघको उपाध्यक्ष भएका पाण्डे २०६४ को १० औँ महाधिवेशनमा प्रदीप पौडेलसँग पराजित भए । २०६७ सालमा कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य जिते । २०७२ मा भएको १३ औँ महाधिवेशनमा खुल्लाबाटै केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७० सालको संविधानसभाको चुनावमा उनी समानुपातिक तर्फबाट सांसद भए भने २०७४ उनी राष्ट्रियसभाको सदस्य निर्वाचित भएका थिए ।

भर्खरैमात्र कांग्रेसले १४ औँ महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भए । उनी पहिलो पटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनावी मैदानमा छन् । उता एमालेको भ्रातृ संस्था अनेरास्ववियुबाट राजनीति गरेका थापा नेपाल ल क्यापसमा स्ववियु सभापति बनेका थिए । त्यसपछि उनले बाजुराबाट एमालेको जिल्ला राजनीति थाले । थापा बाजुरामा तीन पटक एमाले अध्यक्ष बनेका थिए ।

त्यसपछि उनी अञ्जल कमिटी, केन्द्रीय कमिटी हुँदै स्थानीय कमिटीको सदस्य बनेका थिए । उनी २०५६ देखि संसदीय राजनीतिको प्रतिस्पर्धामा छन् । बाजुराबाट थापा ०५६, ०६४ र ७० मा चुनाव लडेका थिए । सफलता भने ०७० मात्र मात्र मिल्यो उनलाई । सुशील कोइराला प्रधानमन्त्री हुँदा थापा उद्योगमन्त्री भएका थिए । उनी ०७४ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने ध्येयमा समानुपातिक उम्मेदवार बनेका थिए । समानुपातिकबाट सांसद बन्नबाट वञ्चित भएपछि मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लाग्यो । अहिले उनी बाजुरामा एमालेको विरासत कायम राख्ने कसरत छन् भने कांग्रेसका पाण्डे कमब्याकको तयारीमा ।

बाजुरामा ०४८, ०५६, ०६४ मा कांग्रेसले जितेको थियो भने ५१ र ०७० र ०७४ एमालेले जितेको थियो । दुई वटा चुनाव लगातार जितेका एमाले पुनः जित निकाल्नेमा आत्मविश्वासी देखिन्छ । उम्मेदवार पाण्डे बिरामी भएपछि कांग्रेसको चुनावी माहोल तातेको छ । उनी बाजुराका गाउँ–गाउँ आक्रमक चुनावी प्रचार गरिहेका छन् ।

बाजुरामा यस पटक स्थानीय निर्वाचनको परिणाम एमालेको अनुकूल देखिन्छ । ०७४ जिल्लाका ९ मध्ये ६ वटा पालिकामा कांग्रेसले जित हात पारेको थियो । तर यसपटक ९ वटा पालिका मध्ये एमालेले ६ र कांग्रेस ३ जितेको छ । यद्यपि बाजुरामा स्थानीय निर्वाचनताका एमाले र माओवादीबीच केही भएको थियो । त्रिवेणी र बुढीनन्दा नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।

त्रिवेणी नगरपालिकामा एमालेले प्रमुख र माओवादीले उपप्रमुख पाउने र ९ वटा वडा मध्ये एमालेले ५ र माओवादीले ४ वडामा उम्मेदवारी दिएको थियो । बुढीगंगामा भने सबै दल एक्लाएक्लै चुनाव लडेका थिए । यस्तै पाँचवटा गाउँपालिकामध्ये हिमालीमा पनि ६ वटा वडामध्ये १ वडा माओवादीलाई दिएर एमालेले चुनावी तालमेल गरेको थियो । जगन्नाथ गाउँपालिकामा मात्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो । खप्तड छेडेदह गाउँपालिका, स्वामी कार्तिक खापर गाउँपालि, गोमल गाउँपालिकामा पनि दलहरू एक्ला एक्लै लडेका थिए ।

गोमल गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ६ वटै वडा एमालेले जितेको छ । यहाँ एमालेले ३ हजार ३०३ मत पाएको छ । यहाँ कांग्रेसको १६ सय १३ र माओवादीको ७ मत छ । खप्तड छेडेदह गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस निर्वाचित भएको छ । कांग्रेसले ५ र एमालेले २ वडाध्यक्ष जितेको छ । यहाँ कांग्रेसको ३ हजार ३९०, एमालेको ३ हजार ४१७, माओवादीको २६५ र स्वतन्त्रको ४२० मत छ ।

त्रिवेणी नगरपालिका मेयर र उपमेयरसहित कांग्रेसले ६ वडा जितेको छ । माओवादीले २ र एमालेले १ डा जितेको छ । यहाँ कांग्रेसको ४ हजार ५९६, एमालेका १९३२ र माओवादीको १८१२ मत छ ।

जगन्नाथत गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एमाले ५ वडाध्यक्ष जितेको छ । एउटा वडा माओवादी केन्द्र विजयी भएको छ । यहाँ एमालेको २ हजार ३२२, माओवादीको ७६२ र कांग्रेसको १०६२ मत छ ।

बडिमालीका नगरपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एमालेले ७ र कांग्रेसले २ वडाध्यक्ष जितेको छ । यहाँ एमालेको ३ हजार ६१८ कांग्रेसको २ हजार ७४१, माओवादीको ३३१ र एकीकृत समाजवादीको ३९६ मत छ ।

बुढीगंगा नगरपालिकामा मेयर र उपमेयरसहित ७ र कांग्रेसले ३ वडा जितेको छ । यहाँ एमालेको ४ हजार ५४२ मत, कांग्रेसको ३५४१, माओवादीको ५८ एकीकृत समाजवादीको ३९३ मत छ ।

बुढीन्दा नगरपालिकामा मेयरमा एमाले र उपमेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । यहाँ एमालेले ७ र कांग्रेसले ३ वडाध्यक्ष जितेको छ । एमालेको ४ हजार ५५१, कांग्रेसको ३ हजार ४८६, एकीकृति समाजवादी २८५ र राप्रपाको ११४ मत छ ।

स्वामी कार्तिक खापर गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित कांग्रेसले ३ वडा जितेको छ । एमाले र माओवादीले १–१ वडा जितेको छ । कांग्रेसले १ हजार ६१८, एमालेले १ हजार ७३२ माओवादीले ७३२ र एकीकृत समाजवादीले ६९३ पाएको छ ।

हिमाली गाउँपालिका अध्यक्षसहित कांग्रेसले ४ वडा जितेको छ । एमालेले उपाध्यक्षसहित ३ वडा जितेको छ । यहाँ कांग्रेसको २ हजार ३०७ , एमालेको २ हजार ३६, माओवादीको २६२, स्वतन्त्रको ५५ र एकीकृत समाजवादीको २१ मत छ । स्थानीय निर्वाचनको मत अनुसार गठबन्धनसँग ३० हजार ३६४ र एमालेसँग २७ हजार ४५३ मत छ । पाण्डे २९११ मतले अगाडि छन् । जितका लागि पाण्डेलाई गठबन्धनको मत जोगाउनु पर्ने चुनौती छ ।

यता थापालाई भने गठबन्धनको मत तान्नुका साथै एमाले नेता भीम रावल निकटको मन जित्नुपर्ने चुनौती छ । अछाममा रावललाई उम्मेदवार हुनबाट वञ्चित गराउन थापाले मुख्य भूमिका खेलेको एमाले वृत्तमा चर्चा छ । बाजुरामा रावलनिकट कार्यकर्ताको निर्णायक भोट छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहीबार २०:४६