काठमाडौं । नेपालको वैदेशिक व्यापारमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म केही सकारात्मक संकेत देखिए पनि व्यापार घाटा भने अझै ठूलो चुनौतीकै रूपमा देखिएको छ। आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार निर्यातमा सुधार आएको छ भने आयात उच्च दरमा बढिरहेकाले व्यापार घाटा झन् फराकिलो बनेको छ।
सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १३.५ प्रतिशतले बढेर १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो व्यापार १५.३ प्रतिशतले बढेर १३ खर्ब ३ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो।
यस अवधिमा नेपालको कुल वस्तु निर्यात २०.८ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। निर्यात बढेसँगै कुल व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ। अघिल्लो वर्ष १२.१ प्रतिशत रहेको निर्यात हिस्सा यस वर्ष १२.९ प्रतिशत पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। नेपालबाट सबैभन्दा बढी भटमासको तेल, अलैंची, पाम तेल, जुट तथा चाउचाउ निर्यात भएको देखिएको छ। तर चिया, ऊनी गलैंचा र हस्तकलाका सामग्रीको निर्यातमा भने गिरावट आएको छ।
आयाततर्फ भने दबाब अझै कायम छ। फागुन मसान्तसम्म कुल वस्तु आयात १२.५ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। नेपालले मुख्य रूपमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, सवारी साधन तथा तिनका पार्टपुर्जा आयात गरिरहेको तथ्याङ्कले देखाएको छ।
आयात अत्यधिक बढेका कारण चालु आवको फागुन मसान्तसम्म मुलुकको व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले बढेको थियो। यस अवधिमा निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ जुन गत आवको सोही अवधिमा १३.८ प्रतिशत थियो। यसले नेपाल अझै आयातमुखी अर्थतन्त्रकै दबाबमा रहेको देखाएको छ।






Comment