डिजिटल लोभको जाल: युवालाई तान्दै अवैध क्रिप्टो कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थतन्त्र

डिजिटल लोभको जाल: युवालाई तान्दै अवैध क्रिप्टो कारोबार



काठमाडौं । नेपालमा अवैध माध्यम प्रयोग गरी भर्चुअल सम्पत्तिको कारोबार तीव्र रूपमा बढ्दै गएको नेपाल राष्ट्र बैंकको रिपोर्टले देखाएको छ। क्रिप्टोकरेन्सी प्रयोग गरेर हुण्डी, अनलाइन ठगी, मनी म्युल, व्यवसायिक आवरणमा कारोबार तथा अनलाइन जुवा जस्ता गतिविधि सञ्चालन भइरहेको पाइएको हो।

राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विदेशबाट रकम पठाउन वा प्राप्त गर्न क्रिप्टोकरेन्सी प्रयोग गरी औपचारिक बैंकिङ प्रणाली छल्ने प्रवृत्ति बढ्दो छ। साथै, बढी नाफाको प्रलोभन देखाएर अनलाइनमार्फत रकम ठगी गरी त्यसलाई क्रिप्टोमा रूपान्तरण गर्ने, परिवार वा परिचितको बैंक खातालाई ‘म्युल खाता’का रूपमा प्रयोग गरी रकम ओसारपसार गर्ने गरिएको उल्लेख छ।

त्यस्तै, कल सेन्टरलगायत दर्ता भएका वैध व्यवसायको आवरणमा क्रिप्टो ट्रेडिङ गर्ने, क्रिप्टोकरेन्सी प्रयोग गरेर अनलाइन जुवा खेल्ने तथा खेलाउने गतिविधि पनि बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ। शंकास्पद भर्चुअल सम्पत्ति कारोबारको संख्या र दर क्रमशः वृद्धि भइरहेको प्रतिवेदनमा उल्लेख छ।

सन् २०२१ मा राष्ट्र बैंकमा १३ वटा शंकास्पद कारोबारसम्बन्धी रिपोर्ट परेकोमा २०२४ मा यो संख्या बढेर २५२ पुगेको छ। तीमध्ये ९१ प्रतिशत रिपोर्ट वाणिज्य बैंकहरूले पेश गरेका हुन्। कुल २५२ रिपोर्टमध्ये २३२ वटा थप अनुसन्धानका लागि नेपाल प्रहरीमा पठाइएको राष्ट्र बैंकले जनाएको छ।

रिपोर्टअनुसार अवैध भर्चुअल सम्पत्ति कारोबारमा संलग्न ७५ प्रतिशत संदिग्ध व्यक्ति २१ देखि ३५ वर्ष उमेर समूहका युवाहरू रहेका छन्। पेशागत रूपमा २९ प्रतिशत विद्यार्थी र २१ प्रतिशत कर्मचारीहरू यसमा संलग्न देखिएका छन्।

कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि प्रविधिको दुरुपयोग गरी सीमापार अवैध लगानी तथा रकम ओसारपसार हुनु मुख्य चुनौतीका रूपमा देखिएको राष्ट्र बैंकको निष्कर्ष छ। फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) का सदस्य देशहरूले जारी गरेका आधिकारिक डिजिटल मुद्राबाहेक बिटक्वाइन, इथेरियम, स्टेबलकोइन, एनएफटीलगायतलाई राष्ट्र बैंकले अवैध भर्चुअल सम्पत्तिको श्रेणीमा राखेको छ।

अवैध भर्चुअल सम्पत्तिको कारोबार बढेको निष्कर्ष निकालिए पनि नेपालीहरूले कति मात्रामा त्यस्ता सम्पत्ति होल्ड गरेका छन् भन्ने यकिन तथ्यांक भने हालसम्म उपलब्ध नभएको राष्ट्र बैंकले जनाएको छ।

यद्यपि, केन्द्रीय अनुसन्धान ब्यूरोले एउटै अन्तर्राष्ट्रिय नेटवर्कमार्फत ३ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन वित्तीय ठगी तथा क्रिप्टोकरेन्सी कारोबार भएको पत्ता लगाएको, राजस्व अनुसन्धान विभागले एउटै परिवारविरुद्ध ३७ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको तथा केही समूहहरूले एउटै घरबाट दैनिक ३ हजार अमेरिकी डलरसम्मको अनलाइन जुवा र क्रिप्टो कारोबार गर्ने गरेको तथ्य फेला परेको भन्दै यसको आकार ठूलो रहेको राष्ट्र बैंकको ठहर छ।

प्रकाशित : 1 January, 2026 5:23 pm