तेस्रो त्रैमासिकमा ऋणात्मक वृद्धि देखिएका तीन प्रमुख उद्योग क्षेत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तेस्रो त्रैमासिकमा ऋणात्मक वृद्धि देखिएका तीन प्रमुख उद्योग क्षेत्र



काठमाडौं । नेपालको अर्थतन्त्र अहिले संवेदनशील मोडमा पुगेको छ। लामो समयको आर्थिक संकटपछि केही सूचक सकारात्मक देखिएका छन् । तर त्यही समयभित्र तीन प्रमुख उद्योग क्षेत्र भने अझै समस्यामा फसिरहेका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक राष्ट्रिय लेखा अनुमान अनुसार देशको सकल आर्थिक वृद्धि दर ४.८ प्रतिशत पुगेको देखाएको छ। यसले अर्थतन्त्र पुनरुत्थानको संकेत गरेको छ। तर, यातायात तथा भण्डारण, वित्तीय तथा बिमा र आवास तथा भोजन सेवा क्षेत्रले भने ऋणात्मक वृद्धि देखाएका छन्। यी क्षेत्रहरूको कमजोर प्रदर्शनले समग्र अर्थतन्त्रको सन्तुलन समान नभएको संकेत दिएको छ।

यातायात तथा भण्डारण क्षेत्रः –३.३ प्रतिशतको गिरावट

अर्थतन्त्रको मेरुदण्ड मानिने यो क्षेत्रमा आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकमा ३.३ प्रतिशतको गिरावट आएको छ। जनसंख्याको आवागमन, आयात–निर्यात, पर्यटनलगायत सम्पूर्ण आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने यो क्षेत्रमा देखिएको मन्दी चिन्ताजनक छ। सार्वजनिक यातायात क्षेत्र नीतिगत अन्योल, जीर्ण पूर्वाधार, नियमनको अभाव, घट्दो जनसंख्या र लगानीमैत्री वातावरण नहुनुले संकटमा परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए। उनका अनुसार झन्डै २० प्रतिशत राजस्व योगदान गर्ने क्षेत्रलाई राज्यले बेवास्ता गर्दै आएको छ।

यस क्षेत्रमा अस्थिर नीति, वैदेशिक पलायनले घट्दो माग, सवारी खरिदमा अनिश्चितता, लाइसेन्स पाउन वर्षौं लाग्ने प्रक्रिया र इन्धन मूल्यवृद्धिपछि पनि वैज्ञानिक भाडा समायोजन नहुनुलाई मुख्य समस्या मानेका छन। यसलाई सहि तरिकाले समाधान तर्फ लैजानका लागि लगानीमैत्री वातावरण, स्पष्ट कानुन, संघ–प्रदेश समन्वय संयन्त्र, यात्रु सुरक्षामा प्राथमिकता र इन्धन मूल्यसँग स्वतः भाडा समायोजन प्रणाली आवश्यक रहेको बताए।

वित्तीय तथा बीमा क्षेत्रः –१.६ प्रतिशत ऋणात्मक वृद्धि

यस अवधिमा नेपालको यस क्षेत्रमा १.६ प्रतिशतको ऋणात्मक वृद्धि भएको छ। बैंक, सहकारी, माइक्रोफाइनान्स र बीमामा आधारित यो क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भए पनि पछिल्लो गिरावटले गम्भीर चिन्ता उत्पन्न गरेको छ। विशेषज्ञहरूका अनुसार कडाइपूर्ण मौद्रिक नीति, अस्थिर ब्याजदर, सहकारी संकट, बीमा कम्पनीप्रति घट्दो विश्वास र शेयर बजारको सुस्त गतिले यो अवस्था ल्याएको बताउछन्। अर्थशास्त्री डा.चन्द्रमणि अधिकारी भन्छन्, “बाहिर ठूलो देखिए पनि भित्र गुदी कमजोर भएको फुलौना जस्तै हो अहिलेको अर्थतन्त्र।” उनका अनुसार उत्पादनमुखी क्षेत्रमा लगानी घटेपछि बैंकहरूले कर्जा प्रवाह कम गर्छन्, जसले समग्र आर्थिक गतिविधि सुस्त बनाउँछ।

विशेष गरी सहकारी क्षेत्रमा देखिएको अस्थिरता र ग्रामीण क्षेत्रमा आत्मबलको कमीले वित्तीय प्रणाली प्रभावित भएको अधिकारी बताउँछन्। उनले यदी कृषिमा आधारित उद्योग प्रवद्र्धन, किसानलाई सिँचाइ, मल–बीउको सहज पहुँच र युवालाई देशमै रोजगारी दिने वातावरण सिर्जना गर्ने बातावरण बनाउने भने यो परिस्थितीबाट बाहिर निस्कन सकिने बताउछन् ।’जे छ नेपालमै भविष्य छ भन्ने भावना जगाउनु अहिलेको खाँचो हो,’ उनले भने।

आवास तथा भोजन सेवा क्षेत्र : –०.८ प्रतिशत गिरावट

पर्यटन, होटल र रेष्टुरेन्ट उद्योग केन्द्रित यो क्षेत्र महामारीपछिको पुनरुत्थानमा पनि कमजोर देखिएको छ। तेस्रो त्रैमासमा ०.८ प्रतिशतको नकारात्मक वृद्धि देखिएको छ। होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार, नेपालको बाह्य अर्थतन्त्रका सूचक—जस्तै विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स सबल छन्। तर आन्तरिक गतिविधि सुस्त छ। “बैंकसँग ऋण दिने क्षमता छ, ब्याजदर पनि घटेको छ, तर लगानी प्रवाह छैन,” उनले भने, “सहरमा टाँगिएका टुलेट बोर्डहरूले आर्थिक सुस्ती प्रस्ट देखाउँछन्।”

नेपालका होटलहरू वार्षिक ३५ लाख पर्यटक सेवा दिन सक्ने क्षमतामा छन्। तर २०२४ मा जम्मा ११ लाख ४७ हजार मात्र पर्यटक आए। “खर्बौं लगानी गरिएका होटलहरू एक९तिहाइ मात्र सञ्चालनमा रहेको उनी बताउछन्। उनले पर्यटकीय विस्तारको प्रमुख अवरोध कनेक्टिभिटीलाई मानेका छन्। पोखरा र भैरहवाका विमानस्थल अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसक्नु, र भारत–चीनसँगको सीमित हवाई तथा स्थल सम्पर्कले पर्यटनमा अवरोध सिर्जना गरेको छ। कनेक्टिभिटी सुधार भए वार्षिक पर्यटक संख्या २५ लाख पुग्न सक्छ। विद्युत, सूचना प्रविधि, निर्माण र कृषि क्षेत्रमा सुधार देखिए पनि सेवा क्षेत्रको सुस्तताले समग्र अर्थतन्त्रमा असन्तुलन पैदा गरेको उनी बताउँछन्।

’नेपालको अर्थतन्त्र बाह्य सूचक सकारात्मक, तर भित्रको अवस्था झन् गम्भीर’

अर्थशास्त्री डा. ज्ञानेन्द्र अधिकारीका अनुसार नेपालका केही बाह्य आर्थिक सूचकहरू जस्तै रेमिट्यान्सको वृद्धिदर, शोधनान्तर सन्तुलन र विदेशी मुद्रा सञ्चिति सकारात्मक देखिए पनि आन्तरिक अर्थतन्त्र गम्भीर संकटमा छ। उनले स्वदेशी उत्पादनमा आधारित नभएर निर्यातको सामान्य वृद्धि पनि पाम आयलजस्ता पुनःनिर्यात वस्तुमा आधारित रहेको बताए।

“साना उद्योगहरू बन्द हुँदैछन्, बजारमा माग घटेको छ, ब्याजदर घट्दा पनि लगानीकर्ता अगाडि बढ्न डराइरहेका छन्,” उनले भने। उनले वैदेशिक सहायता झण्डै शून्यमा झरेको, सरकारको अस्थिर कर नीतिले घरेलु उत्पादनलाई नोक्सान पु¥याएको र सुरक्षाको कारण राजधानीमै बेलुका व्यवसाय बन्द गर्नुपर्ने अवस्थाले आईटी क्षेत्रको विकास रोकेको बताए। अर्थतन्त्र सुधारका लागि उनले कृषि, पर्यटन र जलविद्युतलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। “कृषिमा निर्यात नभए पनि आयात प्रतिस्थापन सम्भव छ,” भन्दै उनले स्वदेशी उत्पादनको संरक्षणका लागि बजारमै उपाय आवश्यक रहेको बताए। साथै, भारतबाट आउने सस्तो वस्तुसँग प्रतिस्पर्धा गर्न काउन्टर भेलिङ ट्याक्स जस्ता नीतिगत कदम चाल्नुपर्ने धारणा राखे।

प्रकाशित : 15 July, 2025 7:26 am